वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
रौतहट : पर्साको वीरगन्ज महानगरपालिकामा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित चक्रदहमा पुल निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुरको मृत्यु भएको हो।
स्थानीयका अनुसार, सोमबार दिउँसो दुवै बालिका हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका थिए। हजुरबुवा कामको सिलसिलामा केही बेरका लागि घर फर्किएका बेला नजिकै खेलिरहेका बालिकाहरू बेपत्ता भएका थिए।
परिवार र आफन्तले खोजी गर्दा नभेटिएपछि बालिकाकी आमा अन्तिमा देवीले सोमबार राति नै इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा निवेदन दिएकी थिइन्। उजुरी लगत्तै प्रहरी नायब निरीक्षक जागेश्वर महतोको नेतृत्वमा प्रहरी टोलीले रातभर खोजी कार्य जारी राखेको थियो।
रातभरको खोजीपछि मंगलबार बिहान खेतभन्दा करिब ५ सय मिटर पूर्वतर्फ निर्माणाधीन पुलको खाल्डोमा दुवै बालिकाको शव तैरिरहेको अवस्थामा फेला परेको हो। वर्षा र निर्माणका कारण खाल्डोमा ठूलो परिमाणमा पानी जमेको थियो। खेल्ने क्रममा सन्तुलन गुमाएर खाल्डोमा खस्दा उनीहरूको डुबेर मृत्यु भएको अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको छ। डिएसपी मल्लका अनुसार घटनाको प्रकृतिको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी दुवै बालिकाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको स्पष्ट कारण खुल्ने र सोही आधारमा अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ।
साउन १२, २०८३ मंगलबार १७:०५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।