‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’को पहिलो चरण सम्पन्न, १० महिलालाई प्रमाणपत्र र पुरस्कार प्रदान

‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’को पहिलो चरण सम्पन्न, १० महिलालाई प्रमाणपत्र र पुरस्कार प्रदान

काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म ‘इनड्राइभ’ ले महिलाहरूलाई सवारी चालक पेसामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ।

काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको विशेष तालिम पूरा गरेका १० जना महिलाहरूलाई प्रमाणपत्र, सुरक्षा किट र मायाको चिनो प्रदान गरी सम्मान गरियो।

सहभागी महिलाहरूलाई व्यावहारिक राइडिङ तालिम, सडक सुरक्षा, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा सहयोगका साथै 'फाइटब्याक नेपाल' सँगको सहकार्यमा आत्मरक्षाको तालिम दिइएको थियो।

सहभागी १० महिलामध्ये एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरियो।

कार्यक्रममा इनड्राइवकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री स्वस्तिमा खड्का, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुनिलजंग शाह र इनड्राइवका प्रतिनिधिहरूको उपस्थिति थियो।

यो पहलले परम्परागत रूपमा पुरुषको बाहुल्य रहेको राइड-सेयरिङ क्षेत्रमा महिलाहरूको पहुँच बढाउन, उनीहरूको आर्थिक सशक्तीकरण गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याउने विश्वास लिइएको छ।

साउन १२, २०८३ मंगलबार १५:०८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।