सुनसरीको महेन्द्र राजमार्ग क्षेत्रमा कर्फ्यु हट्यो, कप्तानगञ्जमा कायमै
काठमाडौं : जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु मङ्गलबार बिहानदेखि हटाएको छ।
देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा भएको झडपपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी लगाइएको कर्फ्यु राजमार्ग क्षेत्रमा हटाइए पनि घटनास्थल र आसपासको क्षेत्रमा भने अझै कायम राखिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचना अनुसार साउन १२ गते बिहान ३ बजेदेखि लागू हुने गरी राजमार्ग क्षेत्रको कर्फ्यु खुला गरिएको हो।
साउन ११ गते राति ९ बजेदेखि पूर्वमा इनरुवा नगरपालिका ३ र ६ को सिमाना (घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा राजमार्गको उत्तर-दक्षिण २०० मिटर क्षेत्रसम्म लगाइएको कर्फ्यु हटाइएको हो।
गत आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको कप्तानगञ्जमा प्रशासनले कर्फ्यु जारी गरेको थियो।
राजमार्गमा यातायात र जनजीवन सहज बनाउन कर्फ्यु हटाइए पनि तनावग्रस्त कप्तानगञ्ज क्षेत्रमा भने कर्फ्युलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार हरिनगरा, भुटा, कप्तानगञ्ज, भुस्की र देवानगञ्ज गरी पाँच वटा बजार क्षेत्रमा कर्फ्यु आदेश कायमै राखिएको छ। हरिनगर र देवानगञ्ज क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा कायम राखिएको छ।
झडप भएको क्षेत्रमा हालस्थिति बिस्तारै सामान्य र सुधारोन्मुख बन्दै गएको उनले जानकारी दिए। बिहानीपख केही स्थानमा सर्वसाधारणको भिडभाड जम्मा हुन थालेपछि प्रशासनले त्यसलाई बिस्तारै हटाउने कार्य गरिरहेको उनले बताए।
विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी अर्यालले झडपमा संलग्न दुवै पक्षलाई वार्ताका लागि बोलाएको लामिछानेले जानकारी दिए। त्यसपछि दिउँसो १२ बजे सर्वदलीय एवं सर्वपक्षीय बैठक समेत बोलाइएको उनले बताए।
यसैबीच कप्तानगञ्ज घटनाको सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्रालयद्वारा गठित टोली सोमबार राति नै विराटनगर पुगिसकेको छ।
टोलीले अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिइसकेको र आज घटनास्थलतर्फ आउने तालिका रहेको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले उकेरालाई जानकारी दिए।
साउन १२, २०८३ मंगलबार ०९:२३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।