मल लिन जाँदा दुई नेपाली किसान भारतमा पक्राउ परेपछि कांग्रेसले गर्‍यो रिहाइको माग

मल लिन जाँदा दुई नेपाली किसान भारतमा पक्राउ परेपछि कांग्रेसले गर्‍यो रिहाइको माग

काठमाडौं : नेपाली कांग्रेसले रासायनिक मल खरिदका लागि भारत गएका बेला भारतीय सुरक्षा निकायले पक्राउ गरी हिरासतमा लिइएका दुई नेपाली किसानको रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेको छ।

सर्लाहीको बलराका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह विगत २० दिनदेखि भारतको सीतामढीस्थित डुमरा जेलमा रहेकाले उनीहरूको रिहाइका लागि कूटनीतिक पहल गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।

नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि आफ्नो खेतीका लागि दुई बोरा युरिया र डिएपी मल खरिद गर्न भारतीय बजार सोनवर्सा गएका बेला भारतीय सुरक्षा निकायले उनीहरूलाई पक्राउ गरेको थियो। कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा आफ्नै खेतमा प्रयोग गर्न मल लिन गएका किसानलाई पक्राउ गरिनु र २० दिनसम्म जेलमा राखिनु दुःखद र विडम्बनापूर्ण भएको उल्लेख छ।

"मल आपूर्ति व्यवस्थापनको कमजोरी, योजनाको अभाव तथा प्रशासनिक अक्षमताको प्रत्यक्ष मार किसानमाथि परेको छ," विज्ञप्तिमा भनिएको छ, "मल गोदाममा र किसान जेलमा यो अत्यन्त विडम्बना हो।"  

कांग्रेसले ती किसान कुनै व्यावसायिक लाभ वा तस्करीका लागि नभई घरायसी प्रयोजनका लागि मात्र मल ल्याउन गएको देखिएकाले व्यावहारिक, कूटनीतिक र कानुनी प्रक्रियामार्फत तत्काल कदम चाल्न आग्रह गरेको छ।

साथै, कांग्रेसले भारत सरकारसमक्ष पनि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राखी ती किसानको रिहाइका लागि कानुनी सहजीकरण गरिदिन अनुरोध गरेको छ। विज्ञप्तिमा नेपालमा मलको समस्यालाई तत्काल र दीर्घकालीन रूपमा समाधान गर्न ठोस कदम चाल्न समेत सरकारसँग माग गरिएको छ।

साउन १२, २०८३ मंगलबार ०८:२८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।