सुनसरी घटनाबारे गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक : आवश्यक परे संयुक्त सुरक्षा टोली खटाउने निर्णय

सुनसरी घटनाबारे गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक : आवश्यक परे संयुक्त सुरक्षा टोली खटाउने निर्णय

काठमाडौँ : कर्फ्यु लगाएर नेपाली सेना परिचालन गर्दा पनि सुनसरीको देवानगञ्जमा उत्पन्न तनाव नियन्त्रणमा नआएपछि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आवश्यक परेको खण्डमा संयुक्त सुरक्षा टोली परिचालन गर्ने निर्णय गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै सुनसरी विवादको विरोधमा मधेसका अन्य क्षेत्रमा समेत विरोध प्रदर्शन सुरु भएको भन्दै स्थिति नियन्त्रणमा लिन आवश्यक परे संयुक्त सुरक्षा टोली परिचालन गर्ने निर्णय भएको बैठकमा सहभागी स्रोतले उकेरालाई बतायो।

गए राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सो क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। तर, कर्फ्युको प्रवाह नगरी विभिन्न स्थानमा विरोध प्रदर्शन जारी रहेपछि गृह मन्त्रालयले सुरक्षा रणनीति कडा बनाएको हो।

बैठकमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि उपस्थित थिए। बैठकमा घटनाको सूचना संकलन तीव्र पार्ने, थप मद्दत चाहिएमा पर्याप्त जनशक्ति उपलब्ध गराउने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने विषयमा छलफल भएको छ।

मन्त्रालयले घटनाको छानबिनका लागि मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिसकेको छ। प्रतिवेदन बुझाउन एक हप्ताको समय पाएको समितिका पदाधिकारी सोमबारै घटनास्थल गएर घाइतेहरू भेटेको थियो।

साउन १२, २०८३ मंगलबार ००:००:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।