सरकारसँग सात बुँदे सहमतिपछि डा. केसीले तोडे आमरण अनशन
काठमाडौं : सरकारसँग सोमबार सात बुँदे सहमति भएसँगै धनगढीमा बिहीबारदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन्।
दुई पक्षबीच भएको सहमतिमा कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालनदेखि चिकित्सा शिक्षा सुधारसम्बन्धी विषय समेटिएका छन्।
सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटालाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्था गरिने भएको छ।
विश्वविद्यालयलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्न दिइने र आवश्यक समन्वय शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्ने सहमति भएको छ।
यस्तै, विश्वविद्यालयको समस्यालाई सम्बोधन गर्दै पठनपाठन, जनशक्ति भर्ना, पाठ्यक्रमको स्वीकृति तथा आवश्यक शैक्षिक तयारी यथाशीघ्र पूरा गरिने उल्लेख छ। ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनको काम तत्काल अघि बढाइने सहमति पनि भएको छ।
चिकित्सा शिक्षा सुधारका विषयमा पनि सरकारले आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइएको छ। विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयममा गेटा विश्वविद्यालयसम्बन्धी व्यवस्था समेटी विश्वविदालयका पदाधिकारीको योग्यता, नियुक्तिलगायत विषय समेटी संसद्को चालु अधिवेशनमै पेश गर्ने सहमति भएको छ।
सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारण गर्दा एकीकृत कार्यविधि, २०८३ अनुसार मापदण्ड लागू गर्ने उल्लेख छ। निजी शिक्षण संस्थाको सिट नबढाइने तर सरकारी शिक्षण संस्थाको सिट आवश्यकता अनुसार बढाउन बाधा नपर्ने व्यवस्था कायम रहने र ऐनमा भएको व्यवस्थाअनुसार छात्रवृत्तिसम्बन्धी व्यवस्था यथावत राख्ने सहमति भएको छ।
भदौ २३ र २४ मा भएका घटनाका दोषीलाई कारबाही गर्ने र २०४६ सालदेखि हालसम्मका उच्च पदस्थ राजनीतिज्ञ तथा पदाधिकारीहरूबाट भएको भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। विगतका सहमतिको कार्यान्वयन अवस्थाबारे अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने र यसको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गरिनेछ।
यस्तो छ सरकार र डा. केसीबीच भएको ७ बुँदे सहमति :


साउन ११, २०८३ सोमबार २१:२६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।