भिसा कीर्ते गरेको आरोपमा अध्यागमनका तत्कालीन अपरेटरसहित दुई जनाविरुद्ध मुद्दा
काठमाडौं : अध्यागमन सूचना प्रणालीको दुरुपयोग गरी लक्जेम्बर्गका नागरिकको भिसा कीर्ते गरेर अमेरिकी नागरिकको नाममा बनाइदिएको आरोपमा सोमबार दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी नागरिक डिन जय रोविन्सनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार महतोले अध्यागमन विभागको नेपाली पोर्ट प्रणालीमा रहेको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधाको दुरुपयोग गरेका थिए। उनले गत २०८० फागुन ९ गते लक्जेम्बर्गका नागरिक पल क्रिस्चियन पियरे गेडिट्जको नाममा जारी भएको आवासीय भिसाको अभिलेखलाई अमेरिकी नागरिक रोविन्सनको नाममा गाभेको खुलेको थियो।
महतोले कानुन बमोजिमको प्रक्रिया पूरा नगरी अधिकारप्राप्त अधिकारीको निर्णयबिना र तोकिएको राजस्व समेत दाखिला नगरी उक्त भिसा अमेरिकी नागरिकको राहदानीमा प्रिन्ट गरेको पाइएको अख्तियारले जनाएको छ।
सरकारी अभिलेख सच्याउने, केरमेट वा हेरफेर गरेर नेपाल सरकार र अध्यागमन विभागलाई हानि-नोक्सानी पुर्याएको अख्तियारको दाबी छ। उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको सजाय माग गरिएको छ।
साउन ११, २०८३ सोमबार १९:२३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।