म्याग्दीमा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु, अर्को ठाउँबाट वृद्धाको सकुशल उद्धार

म्याग्दीमा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु, अर्को ठाउँबाट वृद्धाको सकुशल उद्धार

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका-३, भकिम्लीस्थित चिनाखेतमा गएराति गएको पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ।

घरमा सुतिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले पुरिएर ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

त्यस्तै, जिल्लाकै धवलागिरि गाउँपालिका-७, धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको भने सकुशल उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा उनलाई जीवितै बाहिर निकालिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।

गएरातिको अविरल वर्षासँगै गएको पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा भौतिक संरचना र पशुचौपायामा समेत क्षति पुगेको छ। पहिरोकै कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध बनेका छन्।

यसैगरी, राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कालीगण्डकी करिडोरको ‘बेनी-जोमसोम-कोरला’ सडक खण्ड पनि पहिरोका कारण बन्द भएको छ।

अहिले सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरूको समन्वयमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

साउन ११, २०८३ सोमबार ११:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।