उपायको वार्षिक कारोबार ५४ प्रतिशतले बढ्यो, १५ सयभन्दा बढीलाई रोजगारी

उपायको वार्षिक कारोबार ५४ प्रतिशतले बढ्यो, १५ सयभन्दा बढीलाई रोजगारी

काठमाडौं : लजिस्टिक सेवा प्रदायक कम्पनी ‘उपाय’को वार्षिक कारोबार ५४ प्रतिशतले बढेको छ। 

गत आर्थिक वर्षमा ढुवानी तथा देशव्यापी शाखा विस्तार, नयाँ व्यावसायिक ग्राहक वृद्धि तथा फुलफिलमेन्ट सेवाको विस्तारका कारण वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार भएको कम्पनीले  जनाएको छ। 

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इ-कमर्स बजारको विस्तार, दैनिक पार्सल संख्यामा भएको वृद्धि र वितरण क्षमताको विस्तारले कारोबार बढेको हो।

गत आर्थिक वर्षको सुरुआतमा करिब ३८० जना कर्मचारी रहेको उपायले हाल १ हजार पाँच सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ। कम्पनीका अनुसार डेलिभरी पार्टनर, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत अप्रत्यक्ष रूपमा पाँत हजारभन्दा बढी रोजगारीसमेत सिर्जना भएको छ।

कम्पनीको मानव संशाधन विभागका असिस्टेन्ट भाइस प्रेसिडेन्ट राजु केसीका अनुसार एक वर्षमै कर्मचारी संख्या चार गुणाले बढ्नुले नेपालको श्रम बजारमा पनि सकारात्मक प्रभाव परेको छ।

कम्पनीले आफ्नो दैनिक डेलिभरी क्षमता पनि उल्लेख्य रूपमा बढाएको दाबी गरेको छ। हाल उपायले प्रतिदिन १५ हजार पार्सल वितरण गर्दै आएको जनाएको छ।

यसैबीच, कम्पनीले काभ्रेको साँगामा १८ रोपनीभन्दा बढी क्षेत्रफलमा करिब ४५ हजार वर्गफुट क्षेत्रफलको अत्याधुनिक थर्ड पार्टी लजिस्टिक्स (थ्रीपीएल) वेयरहाउस निर्माण गरिरहेको छ। उक्त वेयरहाउस आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ।

उपायको फुलफिलमेन्ट डिभिजनका प्रेसिडेन्ट संगम पौडेलले पार्सल डेलिभरी मात्र सीमित नभई सप्लाई चेनलाई नै प्रभावकारी बनाउने लक्ष्यका साथ काम भइरहेको बताए।

साउन १०, २०८३ आइतबार १५:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।