महालक्ष्मी विकास बैंकलाई अन्तर्राष्ट्रिय 'राइजिङ स्टार–ग्रोथ' अवार्ड
काठमाडौं : महालक्ष्मी विकास बैंकले भारतीय चेम्बर अफ कमर्सबाट प्रतिष्ठित ‘राइजिङ स्टार–ग्रोथ’ अवार्ड प्राप्त गरेको छ।
नयाँ दिल्लीमा आयोजित 'चौथो इमर्जिङ एसिया बैंकिङ्ग कन्क्लेभ एण्ड अवार्ड्स' कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। यसअघि पनि बैंकले ‘एसेट्स क्वालिटी’ विधामा सम्मान प्राप्त गरेको थियो।
बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङमा गरेको उत्कृष्ट कार्यको कदरस्वरूप यो अवार्ड प्राप्त गरेको जनाएको छ।
बिम्स्टेक क्षेत्रकै प्रतिष्ठित मानिने उक्त कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो। बैंकका अनुसार यस सम्मानले अन्तर्राष्ट्रिय स्तरमा बैंकको पहिचान थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
'सबल बैंक, सफल सहकार्य' को नारासहित वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ।
साउन १०, २०८३ आइतबार १४:०७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।