एमाले-नेकपा सहमतिपछि लुम्बिनीमा सरकार पुनर्गठनको तयारी, सरकारबाट बाहिरिँदै कांग्रेसका मन्त्री
बुटवल : केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठनमा सहकार्य गर्ने सहमति भएसँगै लुम्बिनी प्रदेशमा सत्ता समीकरण परिवर्तन हुने निश्चित भएको छ।
दुई दलबीच प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार बनाउने निर्णयले लुम्बिनीमा नयाँ राजनीतिक कोर्ष सुरु हुने देखिएको हो। एमाले र नेकपाबीच नयाँ राजनीतिक समझदारी भएसँगै लुम्बिनी सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरू सामूहिक रूपमा पदबाट हट्ने तयारीमा छन्।
एमाले संसदीय दलका नेता चेतनारायण आचार्यको नेतृत्वको लुम्बिनी सरकारमा कांग्रेसबाट पाँच मन्त्री सहभागी छन्। केन्द्रस्तरबाट नयाँ गठबन्धन बनाउने सहमति भएपछि उनीहरू सरकारबाट बाहिरिने भएका हुन्।
सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले सत्ता साझेदार दलले औपचारिक रूपमा अर्को दलसँग सहकार्य गर्ने निर्णय गरिसकेपछि सरकारमा निरन्तर बसिरहनुको औचित्य नरहेको धारणा राखे। पार्टीको निर्देशनअनुसार सबै मन्त्रीले एकै पटक राजीनामा दिने तयारीमा रहेको जानकारी उनले दिए।
तिमिल्सेनाले नयाँ गठबन्धनले आवश्यक बहुमत जुटाउन नसकेको अवस्थामा मात्र कांग्रेसले वैकल्पिक सरकार गठनबारे सोच्न सक्ने आशय व्यक्त गरे।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद कायम छन्। यहाँ एमालेका २९ र नेकपाका १३ (सभामुखसहित) सांसद छन्। दुवै दलको सांसदको संख्या ४२ पुग्छ, जुन सरकार गठनका लागि आवश्यक सामान्य बहुमत हो। स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतलाई गठबन्धनमा सामेल गराउने प्रयासमा एमाले र नेकपा छन्।
एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनीमा प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्नेछ। अहिले एमालेकै संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री छन्। अब बन्ने सरकारमा उनैको नेतृत्वलाई निरन्तरता दिने पक्षमा एमाले देखिन्छ। यद्यपि त्यसबारेमा अहिले कुनै औपचारिक निर्णय भने भएको छैन।
आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने विषयमा पार्टी नेतृत्वबाट औपचारिक निर्णय नआउँदा प्रदेशमा एमालेभित्र पूर्व मन्त्री भूमिश्वर ढकालको नाम पनि चर्चामा छ। मुख्यमन्त्री चयन पार्टीको केन्द्रीय नेतृत्वको अधिकार भएको बताउँदै ढकालले प्रदेशसभामा रहेका सबै एमाले सांसद नेतृत्व गर्न सक्षम रहेको बताए। उनले व्यक्तिगत आकांक्षाभन्दा पार्टीको निर्णयलाई प्राथमिकता दिने बताए।
यसैबीच, कपिलवस्तुको चन्द्रौटामा आइतबार एमाले लुम्बिनी प्रदेश कमिटी बैठक बस्दैछ। पार्टी महासचिव शंकर पोखरेलको सहभागिता रहने बैठकमा नयाँ समीकरण, सरकारको संरचना र नेतृत्वबारे छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि मन्त्रालय संख्या आठमा सीमित गर्ने सरकारको नीति सार्वजनिक भए पनि लुम्बिनी प्रदेशमा अहिले पुरानै १२ मन्त्रालयको संरचना अनुसार काम भइरहेको छ। त्यसैले नयाँ सरकार गठनको प्रक्रियासँगै मन्त्रालयको संख्या कायम गर्ने विषय टुंगोमा पुग्ने सम्भावना रहेको छ।
साउन १०, २०८३ आइतबार १३:१४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।