सर्लाहीमा ३३० किलो गाँजासहित एक जना पक्राउ, पिकअप गाडी नियन्त्रणमा
सर्लाही : सर्लाही प्रहरीले ३३० किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी निरीक्षक कैलाश चौधरीको कमान्डमा खटिएको टोलीले कुखुरा फर्ममा खानतलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । सोही स्थानमा २६ वटा बोरामा रहेको करिब १३ क्विन्टल अदुवा पनि फेला परेको थियो ।
गाँजा ओसारपसारमा प्रयोग भएको बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअप गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद गाँजा, गाडी र पक्राउ परेका राउतलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
साउन १०, २०८३ आइतबार १०:५७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।