दक्षिण एसियाली राजनीतिमा नयाँ निर्णायक शक्ति जेनजी
एजेन्सी : दक्षिण एसियामा ‘जेनजी’ युवाहरूको राजनीतिक प्रभाव सशक्त रूपमा विस्तार भइरहेको देखिन्छ। श्रीलंका, बंगलादेश र नेपालमा सत्ता परिवर्तनमा ‘जेनजी’ युवाहरूको निर्णायक भूमिका रह्यो।
अहिले भारतमा पनि जेनजीको शक्ति प्रदर्शनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पार्यो।
नीट परीक्षाको प्रश्न पत्र बाहिरिएको विषयलाई लिएर भारतमा चर्किएको विद्यार्थी आन्दोलनको अघि ‘हाम्रो सरकारमा राजीनामाको संस्कार छैन’ भन्ने भाष्य स्थापित गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले अन्ततः घुँडा टेक्यो।
नीट परीक्षाको प्रश्न पत्र बाहिरिएपछि कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा दिल्लीको जन्तरमन्तरबाट सुरु भएको आन्दोलनले पछिल्लो एक हप्तामा उग्र रूप लिएको थियो। सुरुमा राजनीतिक दलहरूभन्दा टाढा रहेको आन्दोलनमा विद्यार्थीहरूको व्यापक सहभागिता र सामाजिक सञ्जाल (विशेषगरी इन्स्टाग्राम) को प्रभावकारी प्रयोग भएपछि सबै विपक्षी दलहरूलाई पनि समर्थनमा उत्रिन बाध्य बनायो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चा पाएको यस विरोध प्रदर्शनको मुख्य माग नै शिक्षामन्त्रीको राजीनामा थियो। सरकारले आन्दोलनकारीका मागहरूलाई सम्बोधन गर्दै मन्त्री प्रधानको राजीनामा स्वीकृत गरेपछि सीजेपीले हाललाई आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ।
‘जेनजी’ युवाहरू सशक्त सहभागिता रहेको यस आन्दोलनको शैली परम्परागत भन्दा फरक थियो। प्रदर्शनमा प्रयोग गरिएका सृजनशील नारा, 'मिम्स', गीत र नृत्यका साथै आवश्यक संसाधन जुटाउन डेलिभरी एप्सको प्रयोगले युवा पुस्ताको डिजिटल दक्षता प्रदर्शन गरेको छ। सामाजिक सञ्जालमार्फत सरकारको न्यारेटिभलाई चुनौती दिँदै विद्यार्थीहरूले सरकारलाई रक्षात्मक अवस्थामा पुर्यायो।
भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार विश्लेषकहरूले यस आन्दोलनलाई भारतीय लोकतन्त्रको कोर्स करेक्सन मानेका छन्। विगतका निर्वाचनहरूमा पिछडिएका वर्ग र महिलालाई केन्द्रमा राखेर राजनीतिक दलहरूले रणनीति बनाउने गरेकोमा अब युवा एउटा शक्तिशाली र निर्णायक भोट बैंकको रूपमा उदय भएको देखिएको छ।
पत्रकार स्मिता शर्माले बीबीसी हिन्दीलाई भनेअनुसार यस घटनाले लोकतन्त्रमा नियन्त्रण र सन्तुलन पुनः स्थापित गरेको छ। यस्तै, वरिष्ठ पत्रकार आदेश रावल मोदी सरकारको बलियो छविलाई युवा पुस्ताको बलियो चुनौतीको रूपमा हेर्छन्।
दक्षिण एसियाका देशहरूमा जेनजी युवाहरूले राजनीतिकमा देखाएको सक्रियतालाई सत्तालाई उत्तरदायी बनाउन र राजनीतिक एजेन्डाहरू युवा केन्द्रित गराउन सशक्त हस्तक्षेपका रूपमा हेर्न थालिएको छ।
श्रीलंकामा सन् २०२२ को अरागलय आन्दोलनको मुख्य कारण देशको चरम आर्थिक पतन थियो। वैदेशिक मुद्राको सञ्चिति सकिएर इन्धन, ग्यास, औषधि र खाद्यान्नको हाहाकार हुनु, दैनिक १३ घण्टासम्म विद्युत् कटौती हुनु र मुद्रास्फीति ५० प्रतिशतभन्दा माथि पुग्नुले नागरिकलाई सडकमा ल्याएको थियो। आन्दोलनमा जेनजी पुस्ताले सशक्त भूमिका देखायो।
सामाजिक सञ्जालको प्रयोग र सिर्जनशील प्रदर्शनमार्फत संगठित भएका युवाहरूले राजधानी कोलम्बोको गाले फेस ग्रीनमा लामो आन्दोलन गरेका दिए। निरन्जितको आन्दोलन यति सशक्त भयो कि यसले दशकौंदेखि सत्तामा रहेको शक्तिशाली राजापाक्ष परिवारलाई पदच्युत हुन बाध्य बनायो। तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले देशै छोडेर भाग्नुपरेको घटना यहाँका युवा शक्तिको विजयका रूपमा लिइन्छ।
यता बंगलादेशमा सन् २०२४ को विद्रोहको प्रमुख कारण सरकारी जागिरमा रहेको विवादास्पद ३० प्रतिशत कोटा प्रणाली थियो। सन् १९७१ को स्वतन्त्रता सेनानीका सन्तानलाई दिइने यो आरक्षणले गर्दा मेधावी र दक्ष युवाहरू सरकारी सेवाबाट वञ्चित भइरहेका थिए।
बेरोजगारीको दर उच्च रहेको अवस्थामा अदालतले खारेज भइसकेको कोटा पुनः लागु गरेपछि विद्यार्थीहरू आन्दोलित भए। जेनजी विद्यार्थीहरूले सरकारी दमन, कर्फ्यु र इन्टरनेट अवरोधका बावजुद निरन्तरता दिइरहेको डिजिटल प्लेटफर्म र सडक प्रदर्शन भ्रष्टाचार र अधिनायकवाद विरुद्धको विद्रोहमा परिणत भयो। आन्दोलनमा भएको प्रहरी दमनमा सयौं विद्यार्थी मारिएपछि आन्दोलनले एकछत्र सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनालाई देश छोड्न बाध्य बनायो।
त्यस्तै नेपालमा पुराना राजनीतिक दलहरूको अकर्मण्यता, भ्रष्टाचार र सेवा प्रवाहमा देखिएको असफलताले जेनजी पुस्तालाई आन्दोलित बनायो। कोभिड-१९ को समयमा सरकारको फितलो व्यवस्थापन र भ्रष्टाचारविरुद्धको ‘इनफ इज इनफ’ अभियानदेखि नै युवाहरूले राजनीतिकमा हस्तक्षेपको भूमिकालाई बढाउँदै लगे।
रोजगारीको अभावमा लाखौं युवा विदेशिनुपर्ने बाध्यता, ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक संरक्षण र दशकौंदेखि सत्तामा सीमित नेताहरू अस्थिर चलखेलमार्फत शासन गर्ने प्रवृत्तिले युवाहरूमा निराशा बढायो। २०७९ को स्थानीय र संघीय निर्वाचनमा यही पुस्ताको हस्तक्षेपका कारण बालेन शाहजस्ता स्वतन्त्र उम्मेदवार र राष्ट्रिय स्तरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ शक्तिहरू स्थापित भए। अन्ततः भ्रष्टाचार र सुशासनको नारा दिएर भदौ २३ र २४ गते सडकमा निस्किएको जेनजी युवाहरूको आन्दोलनले नेपालको सत्ता बदल्यो।
साउन १०, २०८३ आइतबार ०९:४८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।