बुद्ध एयरले भित्र्यायो नयाँ सिरिजको ‘एटीआर-७२-६००’ विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने
काठमाडौं : निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो उडान सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक प्रविधियुक्त नयाँ सिरिजको ‘एटीआर-७२-६००’ विमान भित्र्याएको छ।
फ्रान्सको तुलुसबाट ल्याइएको ‘९ एन-एओएस’ कल साइनको उक्त विमानले आवश्यक प्रक्रिया पूरा गरी आगामी महिनादेखि व्यावसायिक उडान सुरु गर्ने कम्पनीले जनाएको छ।
नयाँ विमानको सबैभन्दा ठुलो विशेषता यसमा जडान गरिएको ‘आरएनपी-एआर एप्रोच’ प्रणाली हो। यसको मद्दतले काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटरको कम भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ।
हाल प्रयोगमा रहेको ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ अनुसार काठमाडौं र भैरहवामा उडान/अवतरणका लागि १६०० मिटर तथा पोखरामा ३१०० मिटर भिजिबिलिटी आवश्यक पर्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ‘आरएनपी-एआर’ प्रणाली लागू गर्न अध्ययन गरिरहेको छ।
उक्त प्रणाली लागू भएमा पोखरामा २००० मिटर भिजिबिलिटीमै यो विमानले सुरक्षित उडान र अवतरण गर्न सक्नेछ। यसबाट खराब मौसम (कम भिजिबिलिटी) का कारण हुने उडान ढिलाइ र रद्द हुने समस्या उल्लेख्य रूपमा घट्ने बुद्ध एयरको विश्वास छ।
नयाँ एटीआर-७२-६०० विमानमा पूर्ण ‘ग्लास ककपिट’ सहित अत्याधुनिक उडान प्रणाली रहेको छ। आधुनिक नेभिगेसन, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले उडानलाई थप सुरक्षित बनाउँछन्। साथै, यस सिरिजका विमानले कम इन्धन खपत गर्ने भएकाले यसलाई वातावरणमैत्रीसमेत मानिन्छ।
बुद्ध एयरले यही सिरिजका थप विमानहरू ल्याएर आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ। कम्पनीका अनुसार आगामी अगस्टको अन्तिमतिर अर्को एउटा र त्यसपछिका केही महिनाभित्र थप दुईवटा ‘एटीआर-७२-६००’ विमान भित्र्याइनेछ।
यो नयाँ विमानसहित बुद्ध एयरको हाल एउटा एटीआर-४२-३२०, १५ वटा एटीआर-७२-५०० र एउटा एटीआर-७२-६०० गरी कुल १७ वटा विमान पुगेका छन्।
साउन ९, २०८३ शनिबार ०९:३८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।