अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र अपडेट गरिसक्नुपर्ने

अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र अपडेट गरिसक्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘डिजिटल वालेट’ खोल्न र प्रयोगकर्ताको विवरण (केवाईसी) अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ।

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका’ मा १५औं संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

शुक्रबार जारी गरिएको परिपत्रअनुसार अब मोबाइल वालेट प्रयोगकर्ताले तोकिएको समयभित्र आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।

संशोधित निर्देशिकाअनुसार अब भुक्तानी सेवा प्रदायक (वालेट कम्पनी) हरूले नयाँ खाता खोल्दा नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख भिडाएर मात्र विवरण यकिन गर्नुपर्नेछ।

हाल वालेट प्रयोग गरिरहेका र राष्ट्रिय परिचयपत्र लिइसकेका नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा परिचयपत्र नम्बर अद्यावधिक गरिसक्नुपर्नेछ।

यसका लागि वालेट कम्पनीहरूले मोबाइल एप वा अन्य माध्यमबाट प्रयोगकर्तासँग परिचयपत्र ‘भएको वा नभएको’ स्वघोषणा लिनुपर्नेछ।

राष्ट्रिय परिचयपत्र नबनाएका प्रयोगकर्ताको हकमा भने, उनीहरूले परिचयपत्र लिएपछि विवरण अद्यावधिक गर्न वालेट कम्पनीले हरेक महिना नोटिफिकेसन पठाउनुपर्नेछ।

विदेशमा बस्ने नेपाली नागरिकले भने आवश्यक अन्य कागजातका आधारमा अनलाइनबाटै वालेट खोल्न सक्ने व्यवस्थालाई यथावत् राखिएको छ।

तर, उनीहरूले नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित वालेटमा आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्नेछ।

​​​​​​​आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन।

उनीहरूले राष्ट्रिय परिचयपत्रबाहेक अन्य मान्य कागजातका आधारमै वालेट खोल्न र कारोबार गर्न सक्ने लचकता संशोधित निर्देशिकाले प्रदान गरेको छ।

साउन ९, २०८३ शनिबार ०७:५५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।