दिल्लीको आन्दोलनमा नेपालको जेनजी आन्दोलनको चर्चा, नेपाल बनाउन खोजेको र नखोजेको आरोप/प्रत्यारोप

दिल्लीको आन्दोलनमा नेपालको जेनजी आन्दोलनको चर्चा, नेपाल बनाउन खोजेको र नखोजेको आरोप/प्रत्यारोप

काठमाडौं : भारतको दिल्लीमा भइरहेको विध्यार्थीहरुको आन्दोलनको विपक्षमा रहेकाहरूले आन्दोलनरत जेनजीहरुले भारतलाई पनि नेपाल जस्तै बनाउन खोजेको भन्दै आलोचना गरिरहेका छन्। उनीहरूले मुख्यतः नेपालमा भएको २०८२ भदौ २४ को जेनजी आन्दोलनको हिंसात्मक घटनाको उदाहरण दिँदै दिल्लीमा आन्दोलनरत समूहले पनि भारतमा त्यस्तै गर्न खोजेको र अस्थिरता फैलाउने प्रयास भइरहेको भन्दै आन्दोलनकारीहरूको आलोचना गरिरहेका छन्।

आन्दोलनमा सहभागी विद्यार्थीहरूले भने यो आरोपको खण्डन गरिरहेका छन्। भारतमा पेपर लिक प्रकरणमा संलग्नमाथि कार्वाहीको माग गर्दै सोनम वाङचुकले अनशन सुरु गरेका थिए। सरकारले उनलाई जवर्जस्ती उठाएर अस्पताल भर्ना गराएपछि चार दिन अगाडिबाट विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनमा प्रहरी दमन भइरहेको छ तर विद्यार्थी आन्दोलन हिंसात्मक बनेको छैन। विद्यार्थी आन्दोलन संयमित देखिन्छ।

दिल्लीको आन्दोलनमा प्रहरीले लाठी चार्ज गर्ने, टियरग्याँस प्रहार गरेसँगै छर्राबाट प्रहार गरिरहेका छन्। नेपालमा भदौ २३ को आन्दोलनको पहिलो दिनमै प्रदर्शनकारीहरु प्रहरीको ब्यारिकेड तोडेर संसद भवन भित्र छिर्न खोज्दा गोली चलेको थियो। ब्यारिकेड तोडेर भिडलाई उत्तेजित बनाएर संसद भवनतिर लैजाने समूहको नेतृत्व वर्तमान गृहमन्त्री सुधन गुरुङले गरेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ।

नेपालमा नपोबेबीको रूपमा सामाजिक सञ्जालमा सत्ता र शक्तिमा रहेकाहरूको राजसी शैली एक्सपोज गर्दै सुरु भएको प्रतिरोध सुशासन र जबाफदेहिताको माग गर्दै सडकमा आइपुग्दा भदौ २३ मा सरकारले बल प्रयोग गर्दा एकै दिन १९ जनाको ज्यान गयो। दोस्रो दिन भदौ २४ गते सिंहदरबार, संसद् अनि अदालत सबैतिर आगजनी भयो। नेताका घर, पार्टी कार्यालय अनि प्रहरी कार्यालयसँगै व्यापारिक प्रतिष्ठान समेत जलाएर नष्ट पारियो।

नेपालमा भदौ २३ मा संसद् भवन भित्र प्रवेश गर्ने प्रयासमा दमन र त्यसको प्रतिरोधमा हिंसात्मक घटना भएको थियो। भारतमा पनि विद्यार्थीहरुले संसद् भवन बाहिर मार्च गर्ने प्रयास गरेका थिए। जुलाई २० मा संसद् भवनतर्फ भएको प्रदर्शनमा प्रहरीले बर्बरतापूर्वक दमन गरेपछि सुरु भएको सरकार विरोधी आक्रोश थप चर्किरहेको छ।  

वाङचुकले बिहीबार मध्यरात अनशन स्थगित गरे पनि भारतको दिल्लीमा भइरहेको विद्यार्थी आन्दोलन रोकिएको छैन। कक्रोच जनता पार्टीले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआए प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागिने भन्दै प्रधानको राजीनामा लागि २ दिनको समय दिएका छन्। 

आज शुक्रबार केन्द्रीय सरकारका प्रतिनिधिहरूसँगको वार्ता पछि जन्तर मन्तरमा पत्रकारहरूसँग कुरा गर्दै सिजेपीका प्रवक्ता आशुतोष राङ्काले प्रधानको राजीनामा लागि अब धेरै पर्खन नसकिने बताएको जानकारी दिए। उनले यदि प्रधानले आफ्नो पद नछाडे अझ ठूलो राष्ट्रव्यापी आन्दोलन हुने बताए। 

नीट परीक्षाको प्रश्नपत्र बाहिरिएको कारण ज्यान गुमाएका विद्यार्थीहरूको उत्तरदायित्व कसले लिने भन्दै सिजेपीले शिक्षा मन्त्रीको बर्खास्तीलाई आफ्नो मुख्य सर्त बनाएको छ। वार्ता टोलीका अर्का प्रवक्ता सौरभ दासका अनुसार सरकारसमक्ष तीन सूत्रीय प्रमुख माग राखिएका छन्।

त्यसमा पहिलो शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा वा बर्खास्ती, निट प्रश्नपत्र काण्डका कारण ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र आन्दोलनकारीहरूमाथि लगाइएका सम्पूर्ण उजुरी फिर्ता र भविष्यमा कुनै मुद्दा नचलाउने ग्यारेन्टी रहेको छ। दासका अनुसार सरकारले माग नम्बर २ र ३ मा सिद्धान्ततः सहमति जनाउँदै शनिवार दिउँसो ३:३० बजे पुनः वार्ताका लागि बोलाइएको छ।

दिल्लीको आन्दोलनस्थलमा कडा सुरक्षा, इन्टरनेट बन्द
प्रदर्शनकारीहरू नयाँ दिल्लीको जन्तर मन्तरमा भेला भइरहेका बेला प्रशासनले मध्य दिल्लीका प्रमुख मेट्रो स्टेसनहरू, इन्टरनेट सेवा र आवतजावतका बाटोहरू बन्द गरिदिएको छ। यद्यपि, कडा सुरक्षा घेराका बाबजुद दिल्ली र भारतका अन्य शहरहरूमा समेत विशाल ऐक्यबद्धता प्रदर्शन भइरहेका छन्।

लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले प्रश्नपत्र काण्डमा सरकारको जवाफदेहिता माग्ने विद्यार्थीहरूलाई कानुनी कारबाहीको धम्की दिँदै आन्दोलनबाट टाढा रहन अपिल गरेकोमा दिल्ली विश्वविद्यालयको कडा आलोचना गरेका छन्। साथै, प्रधानलाई नहटाइएसम्म संसद्मा कुनै पनि छलफल हुन नदिने अडान विपक्षी दलहरूले लिएका छन्।

यसैबीच, केन्द्रीय मन्त्री जेपी नड्डाले सिपेजीको प्रतिनिधिमण्डलसँगको भेटपछि सरकारले उनीहरूका मागहरू ध्यानपूर्वक सुनेको र विभिन्न दृष्टिकोणबाट छलफल भएको बताउँदै चाँडै जबाफ दिने जानकारी दिएका छन्।

साउन ८, २०८३ शुक्रबार २३:५८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।