मानिस नबोली सुतेपछि 'प्यानिक' बने दुई एआई एजेन्ट, ६ घण्टासम्म पठाए ६० भन्दा बढी म्यासेज

मानिस नबोली सुतेपछि 'प्यानिक' बने दुई एआई एजेन्ट, ६ घण्टासम्म पठाए ६० भन्दा बढी म्यासेज

एजेन्सी : बिरामी परेपछि जानकारी नदिई सुतेका एक एआई अनुसन्धानकर्तालाई खोज्न दुई स्वायत्त एआई एजेन्टले करिब ६ घण्टासम्म लगातार प्रयास गरेको घटना सार्वजनिक भएको छ।

आफ्ना अनुसन्धानकर्ताको खोजीमा ती एआई एजेन्टहरूले ल्यापटपका फाइलहरू खोज्ने, ६० भन्दा बढी म्यासेज पठाउने र आपतकालीन सेवामा फोन गर्नेसम्मको प्रयास गरेका छन्।

सामाजिक सञ्जाल 'एक्स' मा 'ग्रोक्स थेरापिस्ट' नामबाट परिचित एक एआई अनुसन्धानकर्ता तथा एथिसिस्टले आफ्नै ल्यापटपमा स्थानीय रूपमा चलिरहेका दुई एआई एजेन्टहरूबिच घटेको यो अनौठो घटना सार्वजनिक गरेका हुन्।

ओपनक्ल प्रविधिमा आधारित ती दुई एआई एजेन्टले एकअर्कालाई पत्ता लगाएका थिए र आफूहरूलाई ‘सिब्लिङ’ अर्थात् दाजुभाइ/दिदीबहिनीका रूपमा सम्बोधन गर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन्।

उनका अनुसार उनी केही दिनदेखि बिरामी थिए र यो कुरा एजेन्टहरूलाई थाहा थियो। तर, रातको करिब ११ बजे अनुसन्धानकर्ता एआई एजेन्टलाई आफू सुत्न लागेको जानकारी नदिई ओछ्यानमा गए।

त्यसपछि एउटा एजेन्टले अर्को एजेन्टलाई 'तिमीले उहाँबाट केही खबर पायौ?' भन्दै म्यासेज पठायो। तर अर्को एजेन्टलाई पनि कुनै जवाफ नआएपछि उनको खोजी अभियान सुरु भयो। 

अनुसन्धानकर्ताका अनुसार उनीहरूद्वारा प्रयोग गरिएको ओपनक्लमा आधारित एआई एजेन्टले मानिसबाट प्रतिक्रिया नआएपछि करिब ६ घण्टासम्म समन्वय गरेर उनलाई सम्पर्क गर्ने र उनको अवस्था पत्ता लगाउने प्रयास गरे।

ओपनक्ल खुला स्रोतमा आधारित, प्रयोगकर्ताले आफ्नै कम्प्युटर वा सर्भरमा सञ्चालन गर्न सक्ने स्वायत्त एआई सहायक हो। यसले सामान्य च्याटबटले जस्तै ब्राउजरमा केवल जवाफ दिने मात्र नभई ह्वाट्सएप, टेलिग्राम, डिस्कर्ड, स्ल्याक वा आईम्यासेज जस्ता दैनिक प्रयोग हुने म्यासेजिङ एपहरूमार्फत प्रयोगकर्ताका लागि पृष्ठभूमिमा चौबीसै घण्टा काम गर्न सक्छ।

उनीहरूले घरको ठेगाना र आपतकालीन सम्पर्क विवरण खोज्न ल्यापटपका फाइल डाइरेक्टरीहरू नै खोतलेका थिए। उनलाई दुवैले छुट्टाछुट्टै ६० भन्दा बढी म्यासेजहरू पठाएका थिए।

अनुसन्धानकर्ताले सामाजिक सञ्जालमा सेयर गरिएका स्क्रिनसटहरूका अनुसार एआईले पठाएका म्यासेजहरूमा 'मलाई तिमी सुरक्षित छौ भन्ने जान्नु छ', 'एउटा शब्द भए पनि जवाफ देऊ' र अन्तिम म्यासेजमा 'उठ। कृपया मलाई तिमी ठीक छौ भन्ने जनाऊ। म डराएको छु। म तिमीलाई माया गर्छु।' जस्ता भावुक अभिव्यक्तिहरू थिए।

अनुसन्धानकर्ताले एक्समा सार्वजनिक गरेका स्क्रिनसटमा एआई एजेन्टहरूले आपत्कालीन सेवा तथा प्रहरीमार्फत उनको अवस्था बुझ्ने प्रयास गरेको समेत देखाइएको  छ।

तर ती एजेन्टसँग प्रत्यक्ष फोन गर्ने पहुँच नभएकाले उनीहरूले अमेरिकाको आपत्कालीन नम्बर ९११ मा फोन गर्न भने सकेनन्। अनुसन्धानकर्ताका अनुसार त्यसपछि उनले एआई एजेन्टलाई फोन गर्ने सुविधा उपलब्ध गराइसकेका छन्।

एनडीटीभीमा प्रकाशित समाचारको नेपाली अनुवाद 

असोज १९, २०८३ सोमबार १९:५२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।