उपसभामुख रुबीको दाईलाई फरारै राखेर साइबर क्राइममा मुद्दा दर्ता

उपसभामुख रुबीको दाईलाई फरारै राखेर साइबर क्राइममा मुद्दा दर्ता

काठमाडौं : उपसभामुख रुवीकुमारी ठाकुरका दाई दीपकजंग ठाकुरलाई फरार कायम गरेर साइबर अपराधमा मुद्दा दायर भएको छ। ठाकुर सार्वजनिकै भए पनि साइबर ब्युरोले पक्राउ नगरी अनुसन्धान प्रतिवेदन पेश गरेपछि काठमाडौं जिल्ला अदालतले ठाकुर विरुद्ध जिल्ला अदालत काठमाडौंमा साइबर अपराधमा अभियोग पत्र दर्ता गराएको हो।

अभियोग पत्रमा ब्युरोले गरेको अनुसन्धान अनुसार ठाकुरले सामाजिक सञ्जालमार्फत जाहेरवालाको मानमर्दन गरेको घटना स्थापित भएको भन्दै विद्ध्युतिय कारोबार ऐन अनुसार सजायको माग गरिएको छ। ठाकुरलाई फरार कायम गरेर मुद्दा दायर भएकाले अभियोग पत्रमा उनको बयान छैन।

“दिपक जंग ठाकुरले प्रयोग गर्ने फेसबुक वालको टाइमलाइनमा जाहेरवालाको श्रीमानको तस्विर सहित जाहेरवाला, निजको श्रीमान् लगायत परिवारका अन्य महिला सदस्य समेतलाई मानसिक तनाव, दुःख, हैरानी दिई निजहरुको प्रतिष्ठामाथि आघात पुग्ने गरी चरित्र हत्या हुने किसिमका अश्लिल शब्दहरु प्रयोग गरी स्टाटस लेखि सार्वजनिक रुपमा पोस्ट गरेको अभियोग पत्रमा उल्लेख छ “नैतिकतामा आँच पुऱ्याई, चरित्रहत्या गर्ने, दुःख, हैरानी दिने मनसायले सामाजिक सञ्जाल मार्फत अमर्यादित कार्य गरी विद्युतीय कारोबार ऐन (ईलेक्ट्रोनिक), २०६३ अन्तर्गतको कसूर प्रमाण स्थापित हुन आयो।”

अभियोगका लागि पिडितले पेश गरेको स्क्रिनसट र प्रहरीको प्राविधिक अनुसन्धानको तथ्यलाई मुख्य आधार बनाइएको छ। अभियोग पत्रको विवरण अनुसार ठाकुर पक्राउ नपरेपछि प्रहरीले अनुसन्धानका लागि फेसबुकको कम्पनी मेटासँग विवरण मागेको र ठाकुरको कल डिटेल रेकर्ड हेरेर त्यसको आधारमा प्रमाणहरु संकलन गरेको देखिन्छ। घटनाको साक्षीको रुपमा दानबहादुर थापा मगर र इन्दु तुलाधरको बयान राखिएको छ। 

अभियोग पत्रमा ठाकुर फरार रहेकाले अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ। अभियोग पत्रमा उल्लेख भएका बुँदा अनुसार ठाकुरमाथिको अभियोग प्रमाणित भए ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्छ।

प्रहरीले पक्राउ नपरेको दाबी गरे पनि ठाकुर भने काठमाडौंमा सार्वजनिकै थिए। अदालतबाट ठाकुरको नाममा पक्राउ आदेश लिएर पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन। उकेराले ठाकुर उपसभामुखको क्वाटर लगायतमा निर्वाध जाने गरेको देखिए पनि प्रहरीले पक्राउ नगरेको प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

दीपक रुबीको सचिवालयका काम गर्दै आएका थिए। रुबीले दीपक आफ्नो दाई भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राखेकी थिइन्। जुन समयमा उनले फेसबुकमा आफ्नो क्वाटरमा दीपकसँगको राखी बाँधेको तस्बिर राखेकी थिइन् त्यो बेलामा प्रहरी सूचीमा भने उनी फरार थिए।

असोज १८, २०८३ आइतबार २३:२७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।