तीन महिनाअघिका गगन, अहिलेका रवि !
काठमाडौं : ठिक तीन महिनाअघि चितवनको नारायणी किनारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चलिरहँदा माहोल पूरै नीलो थियो।
१८२ सिटको भारी जनमतसहित सरकारको नेतृत्व गरिरहेको दलको उक्त मञ्चमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाहुनाका रूपमा उभिएका थिए।
अगाडि हजारौंको भीड, मञ्चमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछाने। त्यहाँ गगनले नयाँ सत्तालाई शक्तिको उन्माद, इतिहासको अवमूल्यन र ‘देवत्वकरण’ नगर्न भनेका थिए।
तीन महिनापछि, आज दृश्य ठ्याक्कै उल्टियो। खुलामञ्चमा नेपाली कांग्रेसको १५औं महाधिवेशनको भव्य उद्घाटन हुँदै गर्दा चारतारे झन्डासहितको मञ्चमा उभिए- तिनै रास्वपा सभापति रवि लामिछाने।
पार्टीभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर वडा अधिवेशन चलाएर बहिष्कार गरिरहेको विषम परिस्थितिमा कांग्रेस सभापति गगन थापा महाधिवेशनको अध्यक्षता गरिरहेका थिए।
यी तीन महिनाको अन्तरालमा चितवनबाट गगनले रास्वपालाई दिएको चेतावनी र आज काठमाडौंको खुलामञ्चबाट रविले कांग्रेसलाई फर्काए।
असार ७, चितवन : जब गगनले सम्झाए- ‘नेतालाई बा र भगवान् नबनाउनू’
चितवनको महाधिवेशनमा पुगेका गगन थापाले रास्वपाको उदयलाई खुला मनले प्रशंसा गर्दै आफ्नो सम्बोधन सुरु गरेका थिए। तर, उनको भाषण प्रशंसामा मात्र सीमित रहेन; त्यो इतिहासबाट पाठ सिक्न दिइएको गम्भीर राजनीतिक चेतावनी थियो।
गगनले नेपालको इतिहासमा कांग्रेस र कम्युनिस्टले पाएको दुई तिहाइको जनमत कसरी नेताहरूको अहंकार र ‘शक्तिको उन्माद’ले दुर्घटनामा पर्यो भन्ने फेहरिस्त सुनाएका थिए।
उनले भनेका थिए, ‘इतिहासमा तीन-चार पटक दलहरूले यस्तै जनमत पाए। तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो। किनकि दलका नेताहरूको अहंकारको टकराव भयो। जनमतले शक्ति दियो, तर त्यो शक्तिको सीमा हुन्छ भन्ने बिर्सिएर सत्ताको उन्माद चढ्यो। रास्वपाले यो नियति भोग्नु नपरोस्।’
कांग्रेस रास्वपाको प्रतिस्पर्धी भएको तर शत्रु नभएको प्रष्ट पार्दै गगनले भनेका थिए, ‘हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौँ, तर तपाईंहरूको खुट्टा काटेर वा तपाईंहरूलाई सानो बनाएर होइन। हामी तपाईंहरूलाई फोहोर देखाएर होइन, आफ्नै पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ।’
गगनले कांग्रेसले विगत १०-१२ वर्षमा चुनाव जित्ने, सरकारमा जाने र भागबन्डा गर्ने नाममा गरेका गल्तीहरूप्रति आत्मआलोचना गरेका थिए।
उनले रास्वपा कार्यकर्तालाई आग्रह गर्दै भनेका थिए, ‘हामीले दलका नेताहरूलाई भगवान् र ‘बा’ बनाएर गल्ती गरिसक्यौँ। तपाईंहरूले त्यो गल्ती नगर्नुहोला। आफ्नै नेताले गल्ती गर्दा पनि प्रश्न गर्ने आँट राख्नुहोला।’
साथै, चितवनको भूमिमा उभिएर विगतका ३५ वर्ष र पञ्चायतविरुद्ध लड्दा ज्यान गुमाउने सहिदहरूको रगतको अवमूल्यन नगर्न उनले रास्वपालाई सचेत गराएका थिए।
असोज १८, खुलामञ्च : जब रविले जवाफ फर्काए- ‘म पनि कांग्रेस हुन्थेँ होला, यदि...’
तीन महिनापछि आज खुलामञ्चमा उभिएका रवि लामिछाने फरक आत्मविश्वासमा थिए।
पुराना दलका अधिकांश शीर्ष नेताहरू मञ्चमा आसिन रहँदा रविले आफूलाई ‘यो मञ्चको एक्लो प्रतिपक्ष’ घोषणा गरे। गगनले तीन महिनाअघि उठाएका प्रश्नहरूको जवाफ मात्र दिएनन्, कांग्रेसको आन्तरिक संकटमाथि समेत व्यंग्यात्मक बाण हाने।
रविले कांग्रेसको इतिहास र लोकतन्त्रमा महिला तथा सहिदहरूको योगदानलाई सम्मान गर्दै कांग्रेसको विद्रुप वर्तमानमाथि निरन्तर प्रहार गरे। उनले भने, ‘पार्टीको निष्ठालाई पुँजी मान्नेहरूको कदर गरिएको भए, भौतिक पुँजी भएकालाई मात्र महत्त्व नदिएको भए मै पनि कांग्रेस हुन्थेँ होला!’
रविले अगाडि थपे, ‘दूर्गम र पिछडिएका क्षेत्रका मान्छेलाई समानुपातिकको नाममा अवसर नदिई सबैभन्दा बढी अवसर पाएकालाई प्राथमिकता नदिएको भए मै पनि कांग्रेस हुन्थेँ होला! आज ५० वर्षको सभापति पाउँदा गर्व गरिरहनुभएको छ, ४० वर्षमै सभापति बन्ने प्रेरणा दिएको भए मै पनि कांग्रेस हुन्थेँ होला! र, यस्तो लहलहाउँदो रुख छाडेर अर्कै पार्टीको चुनाव चिह्नमा भोट हाल्न उर्दी जारी नगरिएको भए मै पनि कांग्रेस हुन्थेँ होला!’
प्रतिपक्षी दलहरूले सरकार दशैं-तिहारमा ढल्छ भन्दै चलाएको चर्चालाई रविले ठाडै खारेज गरिदिए। ’सरकार ढल्छ कि ढल्छ भन्नेहरू सरकार नढलेको देखेर बेहोस भएर ढल्छन्, सरकार ढल्दैन’, उनले दाबी गरे।
महाधिवेशनमा प्रधानमन्त्री बालेन शाह नआएको विषयमा प्रष्टीकरण दिँदै रविले पार्टी सभापतिले पार्टीको काम हेर्ने र प्रधानमन्त्रीले सरकार सञ्चालन गर्ने स्पष्ट कार्यविभाजन रहेको बताए। यसलाई अस्वाभाविक रूपमा नहेर्न उनले आग्रह गरे।
भाषणको अन्त्यतिर रविले कांग्रेसभित्र गगन थापाविरुद्ध समानान्तर गतिविधि चलाइरहेको शेरबहादुर देउवा पक्षतर्फ लक्षित गर्दै गगनलाई सल्लाह दिए।
उनले भने, ‘कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान पार्ने र फकाउँदा-फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ। यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु, मान्ने नमान्ने तपाईंको जिम्मा।’
रविको यो भनाइ सार्वजनिक हुँदा खुलामञ्चमा उपस्थित महाधिवेशन प्रतिनिधिहरूले ठूलो हुटिङ र ताली बजाएका थिए।
‘हामीले मतदाता मात्र होइन, तपाईंको उपसभापति नै तालिम दिएर पठाएका हौँ’
रविको सम्बोधनपछि महाधिवेशनको अध्यक्षता गरिरहेका कांग्रेस सभापति गगन थापाले रविका टिप्पणीहरूलाई मुस्कुराउँदै तर राजनीतिक रूपमा निकै कडा शैलीमा खण्डन गरे।
रविले ‘गत चुनावमा कांग्रेसकै कतिपय साथीहरूले घण्टीमा भोट हाल्नुभएको आवाज आएको छ’ भनी गरेको टिप्पणीमाथि गगनले व्यंग्य गर्दै खुलामञ्चबाटै जवाफ दिए।
‘अघि रविजीले भन्नुभयो- यहाँ भएका साथीहरूले घण्टीमा मत हाल्नुभयो कि भनेर। रविजी, हामीले त मतदाता मात्र होइन, संसद्भित्र हेर्नुभयो भने तपाईंका ४०/५० जना सांसद त हामीले नै प्रशिक्षित गरेर पठाएका हौँ! रास्वपाको उपसभापतिदेखि तलसम्म हेर्नुभयो भने हिजो कांग्रेसकै मञ्चमा ताली बजाएर गएका साथीहरू हुनुहुन्छ। हामीले त राम्रा-राम्रा कुरा सिकाएर पठाएका छौँ, त्यसैले हामीलाई यसको चिन्ता छैन!’
पार्टी छाडेर रास्वपा वा अन्यत्र गएका पुराना साथीहरूलाई सम्बोधन गर्दै गगनले भावुक तर प्रष्ट धारणा राखे, ‘तपाईंहरूले कांग्रेस छाडेको होइन, हिजो हाम्रा काम र व्यवहारले मन दुखाएर कांग्रेसले तपाईंहरूलाई छाडेको थियो। तर म भन्न चाहन्छु- अब कांग्रेस बदलिएको छ, कांग्रेस तपाईंहरूलाई फेरि जोड्न आउँदैछ।’
रास्वपाले आफूलाई ‘नयाँ’ र कांग्रेसलाई ‘पुरानो’ भन्ने गरेको भाष्यलाई गगनले वैचारिक रूपमा चुनौती दिए।
उनले भने, ‘कुनै पार्टी नयाँ कि पुरानो भन्ने कुरा निर्वाचन आयोगको दर्ता प्रमाणपत्रको मितिले निर्धारण गर्दैन। आजको १८ वर्षे युवा, खाडीमा पसिना बगाइरहेको दाजुभाइ, खेतमा बजार नपाएको किसान र आर्टिफिसियल इन्टेलिजेन्सले ल्याउने चुनौतीको उत्तर जसले दिन सक्छ, त्यही पार्टी नयाँ हुन्छ। कांग्रेस इतिहासको पाना पल्टाएर होइन, भविष्यको प्रश्नको उत्तर बोकेर नयाँ बन्छ।’
खुलामञ्चको ऐतिहासिक सन्दर्भ जोड्दै गगनले सरकार र प्रधानमन्त्री बालेन शाहमाथि राजनीतिक कटाक्ष गरे।
‘पहिलो खुलामञ्च त आज संसद्भित्र चाहिएको छ। प्रधानमन्त्री संसद्मा नआएसम्म, आफूलाई बनाउने र नबनाउने सांसदका प्रश्नहरूको सामना नगरेसम्म संसद् खुला भएको मानिँदैन। संसद्मा खुला बहस हुन सकेको छैन’, गगनले भने।
पार्टीभित्र असन्तुष्ट रहेर महाधिवेशन बहिष्कार गरेका पूर्वसभापति शेरबहादुर देउवाका लागि मञ्चमा खाली कुर्सी राखिएको प्रसंग उठाउँदै गगनले भने, ‘हामीले शेरबहादुर दाइका लागि मञ्चमा कुर्सी खाली राखेका छौँ। तर देउवा दाइको मान राख्ने भनेको दिनमा कति पटक उहाँको ढोकामा गएर सलामी दियो भन्ने होइन। उहाँले जीवन समर्पण गरेको यो पार्टीलाई अग्लो, फराकिलो र सम्मानित बनाउनु नै उहाँप्रतिको वास्तविक मान हो।’
गगनले कांग्रेसले अब विगतको जस्तो सत्ताका लागि अप्राकृतिक गठबन्धन र भागबन्डा नगर्ने घोषणा गरे। ‘हामी आफ्नो विचार र सिद्धान्तमा अडिँदै गर्दा एउटा होइन, पाँचवटा चुनाव हार्नुपरे पनि तयार छौँ। तर सिद्धान्तसँग सम्झौता गरेर सरकार बनाउने खेलमा लाग्दैनौँ।’
असोज १८, २०८३ आइतबार २२:४८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।