याङ्गो राइड र बजाज नेपालबीच साझेदारी : चालकहरूलाई ब्याजरहित किस्ताबन्दीमा मोटरसाइकल
काठमाडौं : सवारी साधन खरिदलाई सहज बनाउँदै चालकहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले राइड–हेलिङ सेवा याङ्गो राइड र बजाज नेपालबीच रणनीतिक साझेदारी भएको छ।
यस साझेदारीअनुसार याङ्गोका योग्य ‘प्रो’ चालक साझेदारहरूले छनोट गरिएका बजाज मोटरसाइकलहरू ४० प्रतिशत डाउन पेमेन्ट, एक्सचेन्ज सुविधा र २४ महिनासम्म शून्य ब्याजमा खरिद गर्न सक्नेछन्।
साझेदारीको अवसरमा याङ्गोले ‘इनभाइट रश’ नामक रेफरल अभियान पनि सुरु गरेको छ। जुलाई ३१ सम्म चल्ने यो अभियानअन्तर्गत हालका चालकहरूले आफ्नो रेफरल कोडमार्फत नयाँ चालकहरूलाई याङ्गोमा आबद्ध गराउनुपर्नेछ।
अभियानको अन्त्यमा सबैभन्दा बढी सफल रेफरल गराउने उत्कृष्ट ४ जना चालक साझेदारलाई पुरस्कारस्वरूप नयाँ बजाज मोटरसाइकल प्रदान गरिनेछ। रेफर गरिएको नयाँ चालकले दर्ता भएको १५ दिनभित्र १३० वटा राइड पूरा गर्नुपर्नेछ।
याङ्गो राइड नेपालका कन्ट्री प्रमुख सन्तोष पाण्डेले बजाजसँगको यो सहकार्यले चालकहरूलाई आफ्नै सवारी साधनमा लगानी गरी आम्दानी बढाउन र नेपालमा बढ्दो राइड-हेलिङको माग पूरा गर्न मद्दत पुग्ने बताएका छन्।
साउन ७, २०८३ बिहीबार १२:३५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।