स्ट्यान्डर्ड चार्टर्ड र एफआईयू नेपालद्वारा वित्तीय अपराध नियन्त्रणसम्बन्धी कार्यशाला आयोजना

स्ट्यान्डर्ड चार्टर्ड र एफआईयू नेपालद्वारा वित्तीय अपराध नियन्त्रणसम्बन्धी कार्यशाला आयोजना

काठमाडौं : स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू) को सहकार्यमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ।

‘फाइनान्सियल एक्सन टास्क फोर्सको मापदण्ड अनुरूप अनुपालनको प्रभावकारिता अभिवृद्धि’ विषयक उक्त कार्यशालामा नेपालको वित्तीय क्षेत्रका १४० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता थियो। जसमा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजार, बीमा कम्पनी र सहकारीका प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रममा नेपाललाई एफएटीएफको ‘ग्रे लिस्ट’बाट सफलतापूर्वक बाहिर निकाल्न चाल्नुपर्ने कदम, वित्तीय अपराधका जोखिम व्यवस्थापन र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा छलफल भएको थियो।

कार्यशालामा स्ट्यान्डर्ड चार्टर्ड बैंक (भारत र दक्षिण एसिया) का वित्तीय अपराध अनुपालन प्रमुख जयराम मङ्गलानी र निर्देशक जयेश कदमले प्रशिक्षण दिएका थिए।

यस्तै, एफआईयू नेपालका निर्देशक बासुदेव भट्टराई, राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपाल र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका फाइनान्सियल इन्स्टिच्युसन्स प्रमुख राजकमल बस्नेतलगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले वित्तीय अपराध नियन्त्रण गर्न सार्वजनिक-निजी क्षेत्रबीच बलियो सहकार्य, जोखिममा आधारित सुपरिवेक्षण र निरन्तर क्षमता अभिवृद्धि आवश्यक रहेको कुरामा जोड दिएका थिए।

यस कार्यशालाले नेपालमा पारदर्शी र बलियो वित्तीय प्रणाली विकास गर्ने स्ट्यान्डर्ड चार्टर्डको निरन्तर प्रतिबद्धतालाई झल्काएको बैंकले जनाएको छ।

साउन ७, २०८३ बिहीबार १०:३९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।