भैरहवा भन्सारलाई पाल्दै मोटरसाइकल र गाडी, यी १० वस्तुबाटै उठ्यो आधाभन्दा बढी राजस्व
बुटवल : भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १ खर्ब ५ अर्ब २ करोड ४८ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएकोमा गत वर्ष १०.३३ प्रतिशतले वृद्धि भएको हो। यद्यपि कार्यालयले निर्धारण गरिएको १ खर्ब १३ अर्ब ६६ करोड रुपैयाँ लक्ष्यको भने ९२.४० प्रतिशत मात्रै हासिल गर्न सकेको छ।
भन्सार कार्यालयको वार्षिक तथ्यांकले मुलुकको व्यापार संरचना अझै आयातमुखी रहेको देखाएको छ। गत आर्थिक वर्षमा ३ खर्ब ४ अर्ब ५ लाख ६७ हजार रुपैयाँ बराबरका वस्तु आयात हुँदा ३४ अर्ब ९८ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरका वस्तु मात्रै निर्यात भएका छन्।
अघिल्लो वर्षको तुलनामा आयात १५.२८ प्रतिशत र निर्यात ६६.९६ प्रतिशतले बढे पनि आयात-निर्यातबीचको ठूलो असन्तुलन भने कायमै छ।
मोटरसाइकल आयातबाटै उठ्यो २१ अर्ब बढी राजश्व
राजस्व संकलनको आधार विश्लेषण गर्दा केही सीमित वस्तुमै भन्सारको आम्दानी अत्यधिक केन्द्रित रहेको देखिन्छ।
सबैभन्दा धेरै १ लाख ७८ हजार २१५ वटा मोटरसाइकल आयात भएका छन्। यी मोटरसाइकलको आयात मूल्य २२ अर्ब ८३ करोड ५८ लाख ६४ हजार रुपैयाँ पुगेको छ भने त्यसबाट मात्रै २१ अर्ब ७६ करोड ४१ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसपछि ७ हजार १५९ वटा जिप, कार तथा भ्यान (विद्युतीय सहित) आयात भएका छन्। यी सवारीसाधनको आयात मूल्य ९ अर्ब ५९ करोड ८१ लाख ५५ हजार रुपैयाँ रहँदा १३ अर्ब ९६ करोड ७ लाख ६५ हजार रुपैयाँ राजस्व उठेको छ।
त्यस्तै २ हजार ४१२ वटा सिङ्गल तथा डबल क्याब पिकअप आयातबाट ४ अर्ब १८ करोड ४ लाख ८८ हजार रुपैयाँ, ७६ हजार ८ किलोलिटर पेट्रोल आयातबाट ४ अर्ब १२ करोड ३१ लाख १८ हजार रुपैयाँ, ३ लाख ६५ हजार ५३८ मेट्रिक टन शुद्ध फलाम आयातबाट २ अर्ब २५ करोड ५६ लाख ११ हजार रुपैयाँ राजश्व उठेको छ।
यसैगरी ७६ हजार ४४० मेट्रिक टन एलपी ग्यासबाट १ अर्ब ६१ करोड ९० लाख २३ हजार रुपैयाँ, २ लाख ५१ हजार २५४ वटा मोबाइल फोनबाट १ अर्ब ६० करोड २३ लाख ६३ हजार रुपैयाँ, १ लाख २३ हजार २४६ केजी एमएस बिलेटबाट १ अर्ब ५७ करोड ९५ लाख २३ हजार रुपैयाँ, ६ हजार ४५ मेट्रिक टन सुपारीबाट १ अर्ब ५७ करोड २ लाख ३८ हजार रुपैयाँ तथा ४ लाख ६६ हजार ३८९ मेट्रिक टन अन्य कोइलाबाट १ अर्ब ४४ करोड ४ लाख ६२ हजार रुपैयाँ राजस्व उठेको छ।
यी शीर्ष १० वस्तुबाट मात्रै ५४ अर्ब ९ करोड ५७ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जुन कुल राजस्वको ५१.५१ प्रतिशत हो। यसले भैरहवा भन्सारको राजस्व संरचना अझै केही सीमित वस्तुमै निर्भर रहेको देखाउँछ।
भैरहवाबाट सबैभन्दा निर्यात हुने बस्तुमा भटमासको तेल
निर्याततर्फ भने प्रशोधित कृषि तथा औद्योगिक उत्पादनको हिस्सा बढ्दै गएको देखिएको छ।
सबैभन्दा धेरै ६ करोड ५२ लाख ७८ हजार ६८८ केजी प्रशोधित भटमासको तेल निर्यात भएको छ। जसको मूल्य १३ अर्ब ७३ करोड २ लाख ६२ हजार रुपैयाँ हुन्छ। त्यसपछि १ करोड ५८ लाख ८० हजार ४६ केजी सिन्थेटिक यार्न निर्यात भएको छ। जसको मुल्य ३ अर्ब ५९ करोड १ लाख रुपैयाँ हुन्छ।
यसैगरी ६८ लाख ७३ हजार ४८५ केजी आल्मुनियमका तार (३ अर्ब ५७ करोड ३४ लाख रुपैयाँ), ४ लाख ५८ हजार ३८८ टन सिमेन्ट, ५८ लाख ७ हजार ३६२ केजी चाउचाउ, नुडल्स तथा पास्ता, १० लाख ९२ हजार ६४३ केजी खयर कत्था, ४७ लाख २ हजार २९३ केजी फलाम वा स्टिलका भाँडाकुँडा, ३९ लाख ५२ हजार ७५४ लिटर प्रशोधित सूर्यमुखी तेल, ८३ हजार ४६२ वर्गमिटर प्लाइउड तथा १ करोड २८ लाख १५ हजार ८ सय केजी चोकर-भुस प्रमुख निर्यातित वस्तु बनेका छन्।
व्यापारिक गतिविधि विस्तार, सवारीसाधन तथा औद्योगिक कच्चा पदार्थको आयात वृद्धि र केही निर्यातजन्य उद्योगको उत्पादन बढेकाले राजस्व तथा निर्यात दुवैमा सुधार देखिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले बताए।
‘गत आर्थिक वर्षमा राजस्व र निर्यात दुवैमा सकारात्मक वृद्धि भएको छ। विशेषगरी मोटरसाइकल, सवारीसाधन, फलाम तथा पेट्रोलियम पदार्थको आयात बढ्दा राजस्वमा टेवा पुगेको छ। त्यस्तै प्रशोधित भटमासको तेल, सिन्थेटिक यार्नलगायतका वस्तुको निर्यात बढेकाले समग्र निर्यातमा पनि उल्लेख्य सुधार देखिएको हो’, उनले भने।
यद्यपि सबै वस्तुमा समान वृद्धि भने भएको छैन। कार्यालयको तथ्यांकअनुसार विद्युतीय जिप, कार तथा भ्यानबाट उठ्ने राजस्व २०.९ प्रतिशत, चकलेटबाट १५.५ प्रतिशत, आलुबाट ४७.६ प्रतिशत, मोबाइल फोनबाट ११.९ प्रतिशत, चामलबाट ५१.६ प्रतिशत, सुती कपडाबाट २६.९ प्रतिशत, बसबाट ३४.७ प्रतिशत तथा लेख्ने-छाप्ने कागजबाट २२.६ प्रतिशत घटेको छ।
तर मोटरसाइकलबाट मात्रै अघिल्लो वर्षको तुलनामा ४ अर्ब ५५ करोड १९ लाख १२ हजार रुपैयाँ बढी राजस्व उठेको छ। त्यसपछि जिप, कार तथा भ्यानबाट १ अर्ब ४ करोड ७३ लाख ८३ हजार रुपैयाँ, डबल क्याब पिकअपबाट ९६ करोड ४४ लाख ८४ हजार रुपैयाँ, सिङ्गल क्याब पिकअपबाट ६६ करोड ५२ लाख १० हजार रुपैयाँ राजस्व वृद्धि भएको छ।
यसका अलावा, ट्रक तथा मिनी ट्रकबाट ५६ करोड ४८ लाख ७२ हजार रुपैयाँ, सुपारीबाट ५० करोड २६ लाख ६३ हजार रुपैयाँ, शुद्ध फलामबाट ३७ करोड ७३ लाख ६९ हजार रुपैयाँ, प्लास्टिकका सीट तथा फिल्मबाट २६ करोड ४३ लाख ७ हजार रुपैयाँ, अन्य खाद्य पदार्थबाट २५ करोड ७४ लाख ७८ हजार रुपैयाँ र कपर वायरबाट २५ करोड ३५ लाख २२ हजार रुपैयाँ राजस्व बढेको छ।
मासिक राजस्व संकलन हेर्दा साउन र चैत महिनामा लक्ष्यभन्दा बढी राजस्व उठेको देखिन्छ। तर भदौदेखि जेठसम्म अधिकांश महिनामा लक्ष्यअनुसार संकलन हुन नसक्दा वार्षिक लक्ष्य पूरा हुन नसकेको सूचना अधिकारी ढुंगानाले बताए। असार मसान्तसम्म कार्यालयले लक्ष्यको ९२.४० प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।
साउन ७, २०८३ बिहीबार १०:२८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।