सिद्धबाबा सुरुङमार्गको सडक निर्माण सकियो, दशैंसम्म गाडी गुडाउने तयारी
बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान-सिद्धबाबा क्षेत्रको सुरुङमार्गको मुख्य टनेलभित्रको सडक निर्माण सम्पन्न भएको छ। आयोजनाले आगामी असोजभित्रै यहाँबाट गाडी गुडाउन लक्ष्य राखेको छ।
तिनाउ गाउँपालिका-३ दोभानमा निर्माण भइरहेको १ हजार १२६ मिटर लामो टनेलको सडक निर्माण सकिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख नवराज बास्तोलाले आउँदो दशैंसम्ममा टनेल भित्रबाट सवारी सञ्चालन गराउने गरी अहिले काम भइरहेको बताए। उनका अनुसार आयोजनाको भौतिक प्रगति असार मसान्त सम्म ६९ दशमलव २५ प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ।
‘टनेलको भित्री भागमा लाइटिङ, भेन्टिलेसन र अन्य उपकरण जडानको काम भइरहेको छ’, उनले भने।
सिद्धबाबा क्षेत्रमा पहिरो नियन्त्रणका लागि विगतमा थुप्रै प्रयास भए। रकसेट, हाफ टनेल, बेन्च कटलगायत करिब आधा दर्जन प्रविधि प्रयोग गरिए, करोडौं रुपैयाँ खर्च गरियो, तर कुनै पनि उपायले स्थायी समाधान दिन सकेन।
वर्षेनी पहिरो दोहोरिने क्रम नरोकिएपछि सुरुङमार्ग निर्माणको अवधारणा अघि सारिएको हो।
२०७५ सालमा स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन(एसडीसी)ले विस्तृत अध्ययन गरी सुरुङमार्गको डीपीआर तयार गरेपछि मात्र आयोजना निर्माणको प्रक्रिया अघि बढेको थियो।
त्यसपछि २०७८ जेठ ९ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरियो र सोही वर्ष फागुन २५ गते चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड रुपैयाँमा निर्माण सम्झौता भयो।
सुरुमा करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रतिस्पर्धात्मक बोलपत्रमार्फत झण्डै ३ अर्ब रुपैयाँ कम लागतमा ठेक्का लागेको थियो।
यद्यपि सम्झौता भएलगत्तै निर्माण सुरु हुन सकेन। विभिन्न प्राविधिक तयारी र प्रक्रिया पूरा गर्दै वास्तविक सुरुङ खन्ने काम २०७९ सालको अन्त्यतिरबाट मात्र सुरू भएको थियो।
साढे १० मिटर चौडा, ७ मिटर अग्लो सुरुङ
आयोजना प्रमुख बास्तोलाका अनुसार, साढे १० मिटर चौडा र करिब ७ मिटर अग्लो यो टनेलको सेकेण्डरी लाइनिङ र इन्भर्टको काम सम्पन्न भइसकेको छ। अहिले भित्र लाइटिङ, भेन्टिलेसन, पंखालगायत उपकरण जडानको काम अघि बढिरहेको उनले बताए।
त्यस बाहेक पहुँच सडक, संरचना निर्माण र सुरक्षा व्यवस्था सम्बन्धी काम एकैसाथ अघि बढाइएको छ । यस अघि नै उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम पहिल्यै सकिइसकेको छ।
सुरुङबाट बाहिर निस्कने बित्तिकै पनि माथिबाट खस्ने पहिरोको जोखिम कायमै रहने भएकाले नेपालको सडक पूर्वाधार इतिहासमै पहिलोपटक ‘रकसेड’ प्रविधिको प्रयोग गरिएको छ। पहिरो धेरै खस्ने भागमा सडकमाथि नै आरसीसी ढलान वा बलियो स्टिलको भिरालो छाना बनाइने प्रविधिलाई ‘रकसेड’ प्रविधि भनिन्छ।
माथिबाट खस्ने पहिरो वा ढुङ्गा सडकमा नझरी उक्त छानामा ठोक्किएर सिधै तल खोला वा भीरतिर खस्छ। जसले गर्दा छानामुनिबाट सवारी साधन, चालक र यात्रु बिनाकुनै डर सुरक्षित रूपमा ओहोरदोहोर गर्न सक्छन्।
सिद्धबाबा क्षेत्रमा ७८० मिटर लामो रकसेड निर्माणको डिजाइन स्वीकृत भइसकेको छ। यसमा प्रयोग हुने बलियो सुरक्षा जालीले ५ हजार किलोग्राम (५ टन) सम्मका विशाल ढुङ्गाहरूलाई सजिलै रोक्न सक्ने क्षमता राख्छ।
निर्माणपछि पनि पाँच वर्ष कम्पनीकै जिम्मा
सिद्धबाबा सुरुङमार्ग ‘इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)’ मोडलमा निर्माण भइरहेको आयोजना हो।
यस मोडलअनुसार डिजाइनदेखि निर्माण सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनीकै हुन्छ। आयोजना प्रमुख बास्तोलाले निर्माण सम्पन्न भएपछि पनि कम्पनीले पाँच वर्षसम्म सञ्चालन, मर्मतसम्भार र सुरक्षा व्यवस्थापनको जिम्मेवारी वहन गर्नेपर्ने बताउँछन्।
सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने प्रमुख सडक हो। यही सडक हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी र बाग्लुङ लगायत जिल्लाका हजारौं सवारी दैनिक सञ्चालन हुन्छन्।
अब सुरुङ सञ्चालनमा आएपछि यी जिल्लाबीचको आवतजावत थप सुरक्षित, नियमित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ।
साउन ६, २०८३ बुधबार १३:३१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।