खैरो हेरोइनसहित १ लाखभन्दा बढी नियन्त्रित लागुऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ

खैरो हेरोइनसहित १ लाखभन्दा बढी नियन्त्रित लागुऔषधसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यकामा खैरो हेरोइन र १ लाखभन्दा बढी क्याप्सुल/ट्याब्लेट नियन्त्रित लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरी टोलीले असार ३१ र ३२ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ का ४५ वर्षीय दिपक श्रेष्ठ र बझाङको खप्तडछान्ना गाउँपालिका-१ का ३५ वर्षीय सागर जेठारा रहेका छन्।

ब्यूरोका अनुसार पक्राउ परेका दिपक श्रेष्ठको साथबाट १३६ ग्राम खैरो हेरोइन, नगद रु १ लाख र १ थान मोबाइल बरामद गरिएको छ।

त्यस्तै, अर्का अभियुक्त सागर जेठाराको साथबाट ठूलो परिमाणमा औषधीय लागुऔषध बरामद भएको छ।

उनको साथबाट ट्रामाडोल २ हजार ४९० क्याप्सुल, टपेन्टाडोल ७ हजार ६२ क्याप्सुल, नाइट्राजेपाम १ हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार क्याप्सुल गरी कुल १ लाख ६४० थान (क्याप्सुल/ट्याब्लेट) नियन्त्रित लागुऔषध र १ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

उपत्यकामा लागुऔषध बिक्री-वितरण गर्ने गिरोहको सूक्ष्म निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) जिवन निरौलाले जानकारी दिएका छन्।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।

साउन ६, २०८३ बुधबार ११:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।