मन्त्रीको तस्बिर जलाएको आरोपमा पक्राउ परेका अक्रम खान र वाजिउद्दिन मुसलमान रिहा
बुटवल : लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयविरुद्ध आन्दोलनरत ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्रम खान र वाजिउद्दिन मुसलमानलाई प्रहरीले रिहा गरेको छ।
सरकारी निर्णयको विरोध प्रदर्शनका क्रममा पर्यटनमन्त्रीको तस्बिर जलाएपछि सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुर्याएको आरोपमा सोमबार राति पक्राउ परेका उनीहरूलाई मंगलबार दिउँसो रिहा गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा तथा भाइ फकरुद्दिन खानको जिम्मामा प्रहरीले उनीहरूलाई छाडेको हो।
अक्रमले पत्रकार सम्मेलनमार्फत आफूलाई सोमबार राति करिब साढे १० बजे प्रसाद चोकबाट नियन्त्रणमा लिइएको बताए। होटलतर्फ जाँदै गर्दा पाहुनासँग रहेकाले पछि उपस्थित हुने आग्रह गर्दागर्दै पनि प्रहरीले आफूलाई जबरजस्ती गाडीमा हालेर लुम्बिनी लगेको उनको दाबी छ।
भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराइएपछि उनलाई रातभर हिरासतमा राखिएको थियो। प्रहरी अधिकारीहरूसँग भएको छलफलमा लुम्बिनी क्षेत्रमा सडक अवरोध वा पुत्ला दहन जस्ता गतिविधि नगरी आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न सुझाव दिइएको उनले बताए।
लुम्बिनीको संरक्षण, विकास र स्थानीयवासीको हितका लागि आफूहरूले लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै अक्रमले यसअघि सरकारको बेवास्ताविरुद्ध प्रदर्शन, पत्रकार सम्मेलन, सभा र सम्बन्धित मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाउनेलगायतका कार्यक्रमसमेत गरिएको स्मरण गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल 'गनेश'को तस्बिर जलाउनुलाई उनले सरकारको कार्यशैलीप्रतिको असन्तुष्टिको प्रतीकात्मक विरोधका रूपमा व्याख्या गरे। लुम्बिनीको विकास र संरक्षणमा सरकार गम्भीर बन्नुपर्ने माग गर्दै अक्रमले कानुनी प्रक्रियाको सम्मान गर्दै अभियानलाई निरन्तरता दिने स्पष्ट पारे।
“हामी भाग्ने मान्छे होइनौं। पुत्ला दहनको विषयमा पछि हट्ने पनि छैनौं। तर कानुनको सम्मान गर्दै शान्तिपूर्ण ढंगले आफ्ना आवाज उठाइरहन्छौं,” उनले भने। प्रहरीले फोनमार्फत बोलाएको भए आफू स्वेच्छाले उपस्थित हुने बताउँदै उनले लुम्बिनीलाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर बुद्धमय क्षेत्रका रूपमा विकास गर्न सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने धारणा व्यक्त गरे।
यसै प्रकरणमा सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुर्याएको आरोपमा पक्राउ परेका वाजिउद्दिन मुसलमानलाई पनि प्रहरीले रिहा गरेको हो।
कात्तिक १०, २०८३ मंगलबार १५:५४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।