इजाजत नलिई अस्पताल, क्लिनिक र ल्याब चलाउने मेचीनगरका १३ संस्थामाथि कारबाही

इजाजत नलिई अस्पताल, क्लिनिक र ल्याब चलाउने मेचीनगरका १३ संस्थामाथि कारबाही

झापा : मेचीनगर नगरपालिकाले अनुमतिबिना अस्पताल, क्लीनिक तथा प्रयोगशाला (ल्याब) सञ्चालन गर्ने १३ स्वास्थ्य संस्थालाई कारबाही गरेको छ।

नगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र उपभोक्ता जागरण अभियान नेपालको टोलीले  चारआली, धुलावारी, इट्टाभट्टा र काँकडभिट्टामा सञ्चालित दुई दर्जनभन्दा बढी अस्पताल, क्लीनिक र फार्मेसीमा अनुगमन गरेको थियो।

विना अनुमति सञ्चालन गरिएका स्वास्थ्य संस्थालाई आजैदेखि शिलबन्दी गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए। 

शिलबन्दीमा मेचीनगर-१३ चारआलीस्थित मनकामना अस्पताल र मेचीनगर-१० धुलाबारीस्थित सामुदायिक स्वास्थ्य सेवा प्रालिसमेत रहेका छन्। इजाजतसम्बन्धी कागजात नभएका दुई वटै संस्थालाई जनही दुई लाख ५० हजार जरिवाना गरिएको छ। 

इजाजत नलिई प्रयोगशाला (ल्याब) सञ्चालन गरेका मेचीनगर-१० धुलाबारीको शिखर अस्पताल प्रालिलगायत ११ वटा अस्पताल, क्लीनिक र फार्मेसीलाई ७५ हजारका दरले जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए। 

अवैध रूपमा प्रयोगशाला सञ्चालन गर्दै आएका प्रतिमा जमूना मेडिकल, न्यूमिलन मेडिकल हल, रोहन मेडिकल, दिव्यांशी मेडिकल, बरुनाभ मेडिकल, भरोसा मेडिकल, काँकडभिट्टा आइकेयर सेन्टर, तेजस्वी मेडिकल, रस्मिका फार्मेसी र जीवन रक्षा मेडिकल जनही ७५ हजारका दरले जरिवाना गरिएको छ।

“कहलिएका मेडिकल क्लीनिक र अस्पतालमा समेत विना इजाजत प्रयोगशाला सञ्चालन गरिनु गम्भीर लापरबाही हो”, बजार अनुगमनमा खटिनु भएको उपभोक्ता जागरण अभियान झापाका सदस्य अर्जुन कार्की भन्छन्, “नागरिकको स्वास्थ्य सेवासँग जोडिएको संवेदनशील विषयमा गल्ती र लापरबाही गर्ने छुट कसैले पनि पाउनुहुँदैन।”

अनुगमनपछि अस्पतालसहित ११ वटा निजी स्वास्थ्य संस्था तथा क्लीनिकमा अनुगमन टोलीले शिलबन्दी गरेको थियो। जरिवाना बुझाएर इजाजत पत्र अद्यावधिक गरेपछि मात्र शिल खोलिने मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताइन्। 

कात्तिक १०, २०८३ मंगलबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।