तिहारमा ५२ लाख फूलका माला बिक्री हुने, ४८ करोडको कारोबार अनुमान

तिहारमा ५२ लाख फूलका माला बिक्री हुने, ४८ करोडको कारोबार अनुमान

काठमाडौं : आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। 

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार आगामी तिहारमा सयपत्री फूलका ४५ लाख, मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने अनुमान छ।

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार तिहार अवधिभर कुल ५२ लाख मालाका लागि करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। कुल खपत हुने मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै पूर्ति हुने आकलन एसोसिएसनको छ।

“तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ”, उनले भने “५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।” 

एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत ९० को थोक मूल्यको आधारमा ४० करोड ५० लाख, मखमली फूलको छ लाख मालालाई औसत थोक मूल्य ४५ का दरले दुई करोड ७० लाख, गोदाबरी फूलको २० हजार मालालाई औसत थोक मूल्य एक हजार २०० का दरले दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य ४०० का दरले दुई करोड ४० लाख पर्ने बताइएको छ।

यसैबिच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म  ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने  भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए। 

मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन्। मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ। मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ।

कात्तिक १०, २०८३ मंगलबार १६:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।