२५ महिनापछि प्रदेश सरकारमार्फत फेरि नजिकिँदै एमाले र नेकपा
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलबार प्रदेश सरकार गठनका विषयमा केन्द्रित रहेर भेटवार्ता भएको छ।
ललितपुरमा दुई नेताबीच भएको भेटवार्तामा प्रदेश सरकारमा देखिएको अन्योल र आगामी सहकार्यबारे छलफल भएको थियो। यो भेटसँगै दुई दलबीच प्रदेशहरूमा सहकार्यको ढोका खोलेको छ।
ओलीसँगको वार्तापछि जनकपुर पुगेका प्रचण्डले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्। उनले भने, “हाम्रो पार्टी र एमालेबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।”
नेपाली कांग्रेस र एमालेबीचको सहकार्यमा आएको फेरबदल र प्रतिपक्षीविहीन प्रदेश सभाभन्दा प्रतिपक्षमा बस्ने कांग्रेसले अडान लिएपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच दुई कम्युनिस्ट नेता छलफलमा जुटे।
भेटमा प्रचण्डले प्रदेशहरूमा राजनीतिक स्थिरताका लागि सर्वदलीय सरकार वा प्रमुख दलहरूबीचको सहकार्य आवश्यक रहेको प्रस्ताव राखेको बताइएको छ। संविधानको रक्षा र संघीय सरकारलाई खबरदारी गर्न पनि प्रदेशमा दलहरूबीचको एकता हुनुपर्ने उनको जोड छ।
ओलीसँगको वार्तापछि सुदूरपश्चिम, कर्णाली र बागमती लगायतका प्रदेशहरूमा सरकार पुनर्गठनको प्रक्रियाले गति लिने देखिन्छ। मधेस प्रदेशको कार्यक्रम सकेर संयोजक प्रचण्ड काठमाडौं फर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि संवाद तयारीमा छन्।
जनकपुरधाम विमानस्थलमा प्रचण्डले तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको तर प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको भनेका थिए। एमाले र आफ्नो दलबीच भने सहकार्य हुने उनले बताएका थिए।
यसअघि २०८१ असारमा टुटेको एमाले र तत्कालीन माओवादी केन्द्र (हाल नेकपा) बीचको सहकार्य करिब २५ महिनापछि पुनः प्रदेश सरकारमार्फत जोडिने प्रक्रियामा पुगेको छ।
साउन ५, २०८३ मंगलबार २३:१२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।