गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

चितवन : दुर्लभ एकसिङ्गे गैँडा मार्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्ज छिरेको आशङ्कामा दुई जनालाई प्रहरीले हातहतियार र आखेटोपहारसहित पक्राउ गरेको छ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-३ ब्रह्मस्थानघाटबाट पक्राउ परेका ६८ वर्षीय खड्गनारायण चौधरी र ५२ वर्षीय टेकबहादुर मगरलाई मंगलबार सार्वजनिक गरिएको हो।

चौधरी मध्यविन्दु नगरपालिका- १ सेतीपानीका हुने भने मगर चितवनको इच्छाकामना गाउँपालिका- ५ फुर्केडाँडाका हुन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार उनीहरूको साथबाट कार्तोस भनिने बन्दुक एक थान र सोमा लाग्ने गोलीगठ्ठा बरामद गरिएको छ। 

पक्राउ परेका चौधरीको घर खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने आखेटोपहार सात थान, माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय ५०० का नोट १३६ थान बरामद गरिएको थापामगरले जानकारी दिए।

पक्राउ परेका दुवैलाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने उद्योग र संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री मुद्दामा अनुसन्धान सुरु गरिएको निकुञ्जले जनाएको छ। 

साउन ५, २०८३ मंगलबार १९:१७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।