प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

ठेक्कापट्टा स्वीकृति, रेखदेख र भुक्तानीमा सहजीकरण गरिदिएबापत निर्माण व्यवसायीसँग घुस लिएर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार अधिकारीले ठेक्कापट्टाहरूमा सहजीकरण गरिदिएबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालबाट एक करोड ७१ लाख रुपैयाँ घुस लिएका थिए। उक्त कार्यमा संलग्न निर्माण व्यवसायी ढकाललाई पनि प्रतिवादी बनाउँदै आयोगले समान बिगो दाबी गरेको छ।

अधिकारीले घुसबापत प्राप्त गरेको गैरकानुनी रकमलाई वैधता दिन र स्रोत लुकाउन ललितपुर महानगरपालिका- ५ मा श्रीमतीको नाममा जग्गा खरिद गरेका थिए। जग्गाको राजीनामा लिखतमा ९१ लाख रुपैयाँ मात्र थैली कायम गरी वास्तविक कारोबार लुकाउन खोजिएको र बाँकी १ करोड ७१ लाख रुपैयाँ बैंक खाता तथा अन्य माध्यमबाट व्यवस्थापन गरेको अख्तियारको ठहर छ। 

अधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन बमोजिम घुस/रिसवत लिएको कसुरमा एक करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ। साथै, जग्गा खरिदमा प्रयोग भएको सम्पत्ति जफत गर्न समेत माग गरिएको छ।

त्यस्तै गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउने र रूपान्तरण गर्ने कार्य गरेको भन्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम थप सजाय र बिगो असुल उपर गर्न माग गरिएको छ।

त्यसै गरी, निर्माण व्यवसायी प्रेम प्रकाश ढकालविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

साउन ५, २०८३ मंगलबार १८:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।