बिक्री गर्न कृषि बजारमा ल्याइएको हरियो खुर्सानीमा भेटियो अत्यधिक विषादी
बुटवल : बुटवल उपमहानगरपालिका- ६ स्थित बुटवल कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको ५१ केजी हरियो खुर्सानीमा तोकिएको मापदण्डभन्दा अत्यधिक विषादीको अवशेष भेटिएको छ।
कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, बुटवलले परीक्षणमा गर्दा सल्यानको कपुरकोट गाउँपालिकाबाट संकलन गरी ल्याइएको हरियो खुर्सानीमा अत्यधिक विषादी अवशेष भेटिएपछि त्यसलाई नष्ट गरिएको छ।
प्रयोगशालाले साउन ५ गते गरेको परीक्षणको नतिजाअनुसार ५१ केजी हरियो खुर्सानीमा अर्गानोफस्फेट समूहको विषादीको अवशेष ५९ दशमलव ५२ प्रतिशत भेटिएको थियो।
प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए तत्काल नष्ट गर्नुपर्ने व्यवस्था छ। सोही आधारमा उक्त खुर्सानी उपभोगका लागि अयोग्य ठहर गर्दै विसर्जन गरियो।
प्रयोगशालाका नायब प्राविधिक सहायक राजीव भण्डारीका अनुसार बजारमा उपभोक्ताको स्वास्थ्यलाई जोखिममा पार्ने खाद्यवस्तु बिक्री हुन नदिन नियमित रूपमा विषादी अवशेष परीक्षण गरिन्छ। परीक्षणमा मापदण्डभन्दा बढी विषादी भेटिएमा त्यस्ता कृषि उपज बजारमा जान नदिई नष्ट गरिएको उनको भनाइ छ।
कृषि क्षेत्रमा अत्यधिक विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले किसानलाई सिफारिसअनुसार मात्रै विषादी प्रयोग गर्न र बाली टिप्नुअघि ‘वेटिङ पिरियड’ अनिवार्य रूपमा पालना गर्न उनले आग्रह गरे।
साउन ५, २०८३ मंगलबार १८:२९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।