गैँडा शिकारको आशंकामा हतियारसहित दुई जना पक्राउ, बाघको दाँत र भारतीय रुपैयाँसमेत बरामद

गैँडा शिकारको आशंकामा हतियारसहित दुई जना पक्राउ, बाघको दाँत र भारतीय रुपैयाँसमेत बरामद

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मार्ने उद्देश्यले छिरेको आशङ्कामा प्रहरीले दुई जनालाई हतियारसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगर रहेका छन्। उनीहरूलाई मङ्गलवार निकुञ्ज प्रशासनले सार्वजनिक गरेको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार उनीहरूलाई मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाटबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्दा उनीहरूको साथबाट एक थान कार्तोस बन्दुक र त्यसमा लाग्ने गोलीगठ्ठा बरामद भएको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका खड्गनारायण चौधरीको घर खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने आखेटोपहार सात थान, माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय ५०० का नोट १३६ थान बरामद गरिएको थापामगरले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने प्रयास (उद्योग) र आखेटोपहार अवैध खरिद-बिक्री सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

निकुञ्ज प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) र दफा २६ (१) बमोजिम कडा सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको छ।

साउन ५, २०८३ मंगलबार १८:२१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।