जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो प्रोटोनको दोस्रो इलेक्ट्रिक गाडी ‘ई.मास ५’
काठमाडौं : जगदम्बा मोटर्सले प्रोटोन ब्राण्डको दोस्रो विद्युतीय गाडीको रूपमा नेपाल भित्र्याएको 'प्रोटोन ई.मास ५' काठमाडौंमा सार्वजनिक गरेको छ। सहरी जीवनशैली र दैनिक यात्रामा नयाँ विकल्प दिने उद्देश्यका साथ प्रोटोनको यो नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सार्वजनिक गरिएको हो।
नेपालमा ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराइएको छ। जगदम्बा मोटर्सले प्राइम भेरियन्टको सुरुवाती मूल्य २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो मूल्य पहिलो सय ग्राहकका लागि र सीमित अवधिसम्म मात्र लागू हुने विज्ञप्तिमा उल्लेख छ।
प्रोटोन ई.मास ५ मा १५.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा छ। साथै ७० लिटरको अगाडि रहने ट्रंक (फ्रंक) र पछाडि ३७५ लिटरको लगेज स्पेससहित ३२ वटा विभिन्न स्टोरेज कम्पार्टमेन्टहरू राखिएका छन्।
ई.मास ५ ले मलेसियामा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को अवार्ड प्राप्त गरिसकेको छ। जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले विद्युतीय सवारी साधनको विकल्प विस्तार गर्ने लक्ष्यअनुसार ई.मास ५ नेपाल ल्याइएको बताए। उनले यस गाडीले आधुनिक प्रविधि र व्यावहारिक उपयोगिताको संयोजन प्रदान गर्ने दाबी गरे।
मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोनले सन् २०१७ देखि चिनियाँ कम्पनी जिलीसँगको साझेदारीमा आफ्ना उत्पादनहरू विश्वव्यापी बनाउँदै लगेको छ। इच्छुकले देशभरका शोरुममा गएर यस गाडीको अवलोकन र बुकिङ गर्न सक्ने जगदम्बा मोटर्सले जनाएको छ।
साउन ५, २०८३ मंगलबार १८:०५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।