तनहुँको कलेस्ती पुलमा बस दुर्घटना : १५ जना घाइते, चालकको अवस्था गम्भीर

तनहुँको कलेस्ती पुलमा बस दुर्घटना : १५ जना घाइते, चालकको अवस्था गम्भीर

गण्डकी : तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको सिटमै च्यापिएको अवस्थामा प्रहरीले सकुशल उद्धार गरी उपचारका लागि रत्नहरि अस्पताल पठाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो। २५ जना यात्रु सवार उक्त बस दुर्घटनाको खबर पाएलगत्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।

घाइते हुनेमा व्यास–४ निवासी ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल–१ निवासी ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ निवासी ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता साही, व्यास–११ थुम्की निवासी ६० वर्षीया चन्द्रमाया गुरुङ छन्।

यस्तै, व्यास–२ निवासी ४७ वर्षीया अनिता गुरुङ, ४९ वर्षीया बिन्दु गुरुङ, कास्की रुपा गाउँपालिका–१ निवासी ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ निवासी २७ वर्षीया सुजिता पौडेल, व्यास–१ निवासी ८ वर्षीया सान्भि गिरी, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

साउन ५, २०८३ मंगलबार १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।