सांसदलाई रास्वपाको पाँच बुँदे निर्देशन : क्षेत्र भ्रमण गर्दा पार्टीसँग समन्वय अनिवार्य

सांसदलाई रास्वपाको पाँच बुँदे निर्देशन : क्षेत्र भ्रमण गर्दा पार्टीसँग समन्वय अनिवार्य

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा स्थानीय पार्टी संगठनसँग अनिवार्य समन्वय गर्न निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार पाँच बुँदे निर्देशन जारी गरेर निर्वाचन क्षेत्रका नागरिकसँगको संवादलाई थप प्रभावकारी, संस्थागत र नतिजामुखी बनाउन स्थानीय पार्टी संगठनसँगको समन्वयमा सांसदहरूलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमण गर्न निर्देशन दिइएको हो। 

पार्टीले बोकेको सुशासन, जवाफदेहिता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्ने स्थानीय पार्टी संगठनसँग समन्वय अनिवार्य रहेको रास्वपाले जनाएको छ। निर्वाचन क्षेत्र तथा जिल्लाका नागरिकहरूसँगको भेटघाट केवल औपचारिकतामा मात्र सीमित नभई जनअभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियान हुनुपर्ने उल्लेख छ।

रास्वपाका सांसदहरूले अब कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय गर्दा सम्बन्धित समितिलाई पूर्व-जानकारी गराउनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्यत्रका कार्यक्रममा सहभागी हुँदा सम्बन्धित सांसद र पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने नीति लिइएको छ। 

भ्रमणका क्रममा स्थानीय समितिसँग पूर्व-छलफल गरी त्यस क्षेत्रका विशिष्ट र जल्दाबल्दा समस्याहरू पहिचान गर्न र ती समस्यालाई समाधानका लागि सम्बन्धित निकायसँग विधिवत् समन्वय गर्ने गरी कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्न समेत भनिएको छ।

यसैगरी, पार्टीले आफ्ना जनप्रतिनिधिहरूलाई कार्यक्रमको तडकभडक र अनावश्यक खर्चबाट मुक्त रहन सचेत गराएको छ। भ्रमण र कार्यक्रमहरूलाई मितव्ययी बनाउँदै स्रोत-साधनको सही सदुपयोग मार्फत सुशासनको राजनीतिक सन्देश प्रवाह गर्नुपर्नेमा रास्वपाले जोड दिएको छ।

निर्वाचन क्षेत्र भ्रमणका क्रममा प्राप्त जन-सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत रिपोर्टहरूलाई अनिवार्य रूपमा लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्नुपर्नेछ। महामन्त्री आचार्यले सुव्यवस्थित प्रयत्नले मात्र पार्टीको संस्थागत परिपक्वता बढ्ने र जनताप्रतिको जवाफदेहिता थप कसिलो हुने भएकाले पार्टी निर्देशन मनन गर्न आग्रह गरेका छन्।

साउन ५, २०८३ मंगलबार १६:११:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।