स्वदेशी कच्चा पदार्थमा आधारित पोसाक उद्योग प्रवर्धन गर्न सरकार प्रतिबद्ध

स्वदेशी कच्चा पदार्थमा आधारित पोसाक उद्योग प्रवर्धन गर्न सरकार प्रतिबद्ध

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमै उपलब्ध कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास, विस्तार र प्रवर्धनका लागि सरकार सबै प्रकारका सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन र उत्पादनमूलक उद्योगको प्रवर्धन गर्न सरकार गम्भीर रहेको बताए।

छलफलका क्रममा संघका पदाधिकारीहरूले राखेको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहने गरी ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन्।

काउन्सिल गठनले स्वदेशी कच्चा पदार्थमा आधारित पोसाकको निर्यात प्रवर्धन र आयात व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा व्यवसायीहरूको छ।

निजी क्षेत्रका बन्द तथा रुग्ण अवस्थामा रहेका तयारी पोसाक उद्योगहरूलाई तुरुन्तै सुचारु गराउन उद्योग मन्त्रालयलाई थप निर्देशन दिइएको छ। यसैगरी, प्रधानमन्त्री शाहले निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआइ) ल्याउन तयारी पोसाक वस्तु अमेरिकामा रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्।

‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ उद्देश्य पूरा गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरिने प्रधानमन्त्रीले  प्रतिबद्धता जनाएका छन्।

ग्रिन गार्मेन्ट भिलेजका लागि व्यवसायीहरूलाई उपयुक्त जग्गा खोज्न आग्रह गर्दै सरकारका तर्फबाट आवश्यक बजेट उपलब्ध गराउने आश्वासन समेत उनले दिए। 

नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुर्याउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि तयारी पोशाक उद्योगले भोगिरहेका  समस्या समाधान गर्न लागिपर्नेमा जोड दिए। 

छलफलपछि नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीति लिएर अघि बढेको अनुभूति भएको बताए। उनले देशको अर्थतन्त्र सुधार नगरि देश नबन्ने दाबी गरे। 

"देशको अर्थतन्त्र सुधार नगरीकन मुलुक बन्दैन। मान्छे (वैदेशिक रोजगारमा) निर्यात गरेर देश बन्दैन, मान्छेले उत्पादन गरेको वस्तु निर्यात गरे मात्र देश समृद्ध हुन्छ," अध्यक्ष पाण्डेले भने।

विगत चार वर्षदेखि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग गर्दै आएकोमा सरकार आफैँले उद्योग सञ्चालन गर्ने निर्णय गर्नु सकारात्मक कदम भएको संघले जनाएको छ।

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहित प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झाको उपस्थिति रहेको थियो।

साउन ५, २०८३ मंगलबार १५:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।