प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध एउटा उजुरी, साउन १३ मा संसदीय सुनुवाइ

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध एउटा उजुरी, साउन १३ मा संसदीय सुनुवाइ

काठमाडौं : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ यही साउन १२ र १३ गते गर्ने गरी कार्यतालिका स्वीकृत गरेको छ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट साउन १२ गते प्रस्तावित आयुक्तद्वय डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्ले तथा १३ गते प्रस्तावित प्रमुख आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइ गर्ने निर्णय भएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

त्यस बैठकमा प्रस्तावित प्रमुख आयुक्त र आयुक्तद्वयले आफ्नो योग्यता, अवधारणा, सोच र अनुभव प्रस्तुत गर्नेछन्। संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तद्वयमा सुब्बा र वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीका विषयमा एउटा उजुरी परेता पनि प्रस्तावित आयुक्तद्वयका सम्बन्धमा कुनै सिकायत प्राप्त नभएको समितिले जनाएको छ। 

समितिले गत असार २५ गते उनीहरूका सम्बन्धमा सार्वजनिक सूचना जारी गरी उजुरी माग गरेको थियो। समितिको कार्यविधिअनुसार आजको बैठकमा प्राप्त उजुरी खोलेर अध्ययनका लागि वितरण गरियो।

साउन ५, २०८३ मंगलबार १४:४८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।