नुवाकोटमा रोपाईं गरिरहँदा पहिरो खस्दा ६ जना किसान घाइते, एक जनाको अवस्था गम्भीर
नुवाकोट : जिल्लाको विदुर नगरपालिका-१२ भट्टगाउँमा सोमबार धान रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा छ जना किसान घाइते भएका छन्।
घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इकवाल हवारीले उकेरालाई जानकारी दिए।
उनले भने, ‘हिजोको घटना हो। एक जना गम्भीर घाइते भएर काठमाडौं पठाइएको छ। उहाँको उपचार भइरहेको छ। बाँकी घाइते भन्ने रिपोर्टिङ प्रहरीमा छैन।’
उनको हाल काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाईं भइरहेका बेला माथिबाट एक्कासी ठूलो पहिरो खसेको थियो।
पहिरोमा परी गम्भीर घाइते भएका नारायणप्रसाद भट्टलाई करिब दुई सय मिटर तल जङ्गलको बीचबाट उद्धार गरिएको हवारीले बताए।
पहिरोमा परी सामान्य घाइते भएका अन्य किसानहरूको स्थानीय चारघरे उपस्वास्थ्य चौकीमा उपचार गरिएको नोमराजका छोरा रामशरण भट्टले जानकारी दिए।
साउन ५, २०८३ मंगलबार १४:१५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।