वैदेशिक रोजगारीका नाममा ठग्नेहरूलाई श्रममन्त्रीको चेतावनी : ‘जहाँ लुके पनि उम्किन पाउँदैनौ’

वैदेशिक रोजगारीका नाममा ठग्नेहरूलाई श्रममन्त्रीको चेतावनी : ‘जहाँ लुके पनि उम्किन पाउँदैनौ’

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई ठग्ने गिरोहविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्।

ताहचलस्थित वैदेशिक रोजगार विभागको कार्यालय अनुगमनका क्रममा बोल्दै मन्त्री यादवले डिजिटलाइजेसनको सुरुवात भइसकेकाले अपराध गरेर कोही पनि उम्किन नपाउने स्पष्ट पारे।

उनले भने, ‘डिजिटलाइजेसन युगको सुरुवात भएको छ। मान्छे ठग्नेहरुलाई पनि पनि चेताउनी दिन चाहन्छु–जहाँ लुकेर बसेपनि कारबाहीमा पर्नुहुन्छ।"

नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र वैदेशिक रोजगार विभागको अनुसन्धान संयन्त्रबीच समन्वय गरी ठगीमा संलग्न जो-कोहीलाई जहाँसुकै लुकेको भए पनि कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारे।

उनले विद्यमान कानुनी व्यवस्थालाई परिमार्जन गर्दै वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधनको मस्यौदा तयार गरी छिट्टै मन्त्रिपरिषद् र संसद्मा पेस गरिने बताए। यसका साथै अब सेवाग्राहीले आफ्नै ठाउँबाट आवेदन दिन र अन्तर्वार्तामा सहभागी हुन सक्ने व्यवस्था गर्न लागिएको समेत जानकारी दिए।

उनले भने, "वैदेशिक रोजगारको क्षेत्रलाई सुधार गर्नको लागि ऐन संशोधन गर्दैछौँ। चाडै नै संसद र क्याविनेटमा लगेर ऐनलाई संशोधन गर्दै नयाँ एउटा युगको सुरुवात गर्छौँ। त्यसमा एभ्रिथिङ डिजिटलाइज हुन्छ। म्यानपावरमा आवेदन दिनको लागि काठमाडौँ आउन परेन।"

साउन ५, २०८३ मंगलबार १४:११:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।