कीर्तिपुरमा कारमा लागेको आगो नियन्त्रणमा, एक जनाको मृत्यु

कीर्तिपुरमा कारमा लागेको आगो नियन्त्रणमा, एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा मंगलबार बिहान एउटा निजी कारभित्र जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँट, चाँदनी चोकमा बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा चालकको सिटमा रहेका ती व्यक्तिको मृत्यु भएको हो।

उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बिहान करिब ११:२० बजे पार्किङमा राखिएको गाडीमा एक्कासी आगो लागेको थियो।

आगलागीको खबर पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणमा लिइए पनि गाडीभित्र रहेका व्यक्तिको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुल्न सकेको छैन। उनी चालकको सिटमा जलेको अवस्थामा भेटिएका थिए।

अहिले आगो नियन्त्रणमा आइसकेको र शव पहिचान गर्ने क्रममा रहेको जोशीले उकेरालाई बताए।

‘पार्किङमा राखिएको गाडीमा आगो लागेको हो। एउटा पुरुषको शव छ। शवको पहिचानको क्रममा नै छौँ’, उनले भने।

साउन ५, २०८३ मंगलबार १२:४०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।