स्पेनको सिको गर्दा डुब्न सक्छन् ठूला क्लब : विश्वविजेताको रणनीतिमा लुकेको त्यो ‘खतरनाक भ्रम’

स्पेनको सिको गर्दा डुब्न सक्छन् ठूला क्लब : विश्वविजेताको रणनीतिमा लुकेको त्यो ‘खतरनाक भ्रम’

एजेन्सी : ‘इतिहास सधैँ विजेताहरूले नै लेख्छन्’ भन्ने भनाइ फुटबलको हकमा पनि पूर्ण रूपमा लागू हुन्छ। फुटबल यस्तो खेल हो, जो निरन्तर परिवर्तन भइरहन्छ।

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर डेनिस ल भन्थे, ‘फुटबलको इतिहासमा कहिल्यै परिवर्तन नभएको एउटै कुरा बलको गोलो आकार मात्र हो।’

फुटबलमा रणनीति र शैलीको विकास सधैँ सफल टोलीहरूबाटै प्रेरित हुने गर्छ। जित हासिल गर्नका लागि सबैले विजेताकै सिको गर्न खोज्नु स्वाभाविक पनि हो।

यस पटकको विश्वकपमा लुइस डे ला फुएन्टेको प्रशिक्षणमा रहेको स्पेनले प्रदर्शन गरेको खेल शैलीको चौतर्फी प्रशंसा भइरहेको छ। जर्मनीका पूर्व विश्वविजेता टोनी क्रुसले अर्जेन्टिनाविरुद्ध स्पेनको जितपछि ‘फुटबलको जित भयो’ सम्म भन्न भ्याए।

तर, विश्वका क्लबहरूले यसै साता स्पेनले देखाएको खेल शैलीको अन्धो सिको गर्न थाले भने त्यो निकै प्रत्युत्पादक र खतरनाक सावित हुन सक्छ। विशेष गरी, स्पेनलाई विश्वविजेता बनाउने वास्तविक शक्ति के थियो भन्ने नबुझी सिको गर्दा नतिजा उल्टो आउन सक्छ।

इतिहासका असफल ‘कपीक्याट’
फुटबलको इतिहासमा अरूको रणनीतिको नक्कल गरेर आफ्नै शैली बिगारेका थुप्रै उदाहरण छन्। सन् १९२० को दशकमा आर्सनलका हर्बर्ट च्यापम्यानले ‘डब्ल्युएम’ फर्मेसन (३-२-२-३) स्थापित गरे।

आर्सनलले उपाधि जित्न थालेपछि अन्य टोलीले पनि च्यापम्यानको सिको गर्दै रक्षापंक्तिमा थप खेलाडी राख्न थाले। तर, च्यापम्यानको जस्तो रणनीतिक चेत र खेलाडीको क्षमता नहुँदा ती टोलीहरूको खेल निकै नकारात्मक र झुर बन्यो।

यस्तै, सन् २००८ मा पेप ग्वार्डिओलाले बार्सिलोनामा स्थापित गरेको ‘टिकी-टाका’ शैलीको नक्कल गर्ने होड आजसम्म पनि चल्दै आएको छ।

सन् २०१० मा स्पेनले विश्वकप जित्दा प्रिमियर लिग क्लब ब्ल्याकपुलका म्यानेजर इयान होलोवेले स्पेनको शैली पछ्याउने घोषणा गरे। तर, टिममा स्पेनका जस्ता विश्वस्तरीय खेलाडी नहुँदा ब्ल्याकपुल रेलिगेसनमा पर्यो।

स्वयम् ग्वार्डिओला यसरी बिनाउद्देश्य पास मात्रै खेलिरहने टिकी-टाका शैलीलाई घृणा गर्छन्।

उनी भन्छन्, ‘म केवल पासका लागि पास खेल्ने टिकी-टाका शैलीलाई घृणा गर्छु। बिनाकुनै स्पष्ट उद्देश्य केवल बल नियन्त्रणमा राख्नु मूर्खता हो।’

पासिङ मात्र होइन, ‘प्रेसिङ’ हो स्पेनको असली जादु
धेरैलाई लाग्न सक्छ स्पेन पासिङका कारण मात्र सफल भयो, तर वास्तविक रहस्य बल बिनाको खेलमा लुकेको थियो।

तथ्याङ्क हेर्ने हो भने, समूह चरणबाटै बाहिरिएको टर्कीको औसत बल नियन्त्रण विजेता स्पेनको भन्दा बढी थियो।

फ्रान्सविरुद्धको सेमिफाइनलमा स्पेनको बल पोजेसन केवल ५१ प्रतिशत मात्र थियो, तर त्यो खेल स्पेनको उत्कृष्ट प्रदर्शन मानिन्छ। स्पेनको सफलता कति धेरै पास खेल्यो भन्नेमा होइन, बरु ती पासहरू मैदानको कुन भागमा खेलिए भन्नेमा निर्भर थियो।

मिडफिल्डर रोड्रीले भनेका थिए, ‘विपक्षीलाई खेल्न नदिनु र खेललाई हाम्रो अनुकूल क्षेत्रमा ल्याउनु नै हाम्रो रणनीति थियो।’

स्पेनले यस पटक सबैभन्दा आक्रमक रक्षात्मक लाइन कायम गर्यो, जसले गर्दा खेल विपक्षीको हाफमै केन्द्रित भयो। विपक्षीसँग बल हुनासाथ स्पेनले आक्रामक ‘प्रेसिङ’ मार्फत बल खोसिहाल्थ्यो।

यदि कुनै क्लबले स्पेनको सिको गर्न चाहन्छ भने उसले स्पेनले बल हुँदा के गर्यो भन्दा पनि बल नहुँदा कस्तो रणनीति अपनायो भन्ने कुरा सिक्नुपर्छ।

विपक्षीको रणनीति र अन्सेलोटीको अचुक भनाइ
स्पेनको यो टोली शतप्रतिशत पूर्ण भने थिएन। प्रतियोगिताको सुरुआतमै केप भर्डेजस्तो सानो टोलीले रक्षात्मक रणनीति अपनाएर स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो।

अर्जेन्टिनाले पनि रक्षात्मक खेल्दै स्पेनलाई अतिरिक्त समयसम्म धकेलेको थियो। लामिन यामाल र निको विलियम्स जस्ता युवा विङ्गरहरू पूर्ण रूपमा फिट नहुँदा स्पेनले सोचेजस्तो सहज खेल खेल्न सकेको थिएन।

म्यानेजर कार्लो अन्सेलोटीले एक पटक बल पोजेसनको भ्रमबारे भनेका थिए, ‘एक समय थियो जब सबै विश्लेषकहरू बल पोजेसनमा मात्र केन्द्रित हुन्थे। किनभने यसलाई मापन गर्न सकिन्थ्यो। तर वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्-मापन गर्न सकिने सबै कुरा महत्त्वपूर्ण हुँदैनन् र महत्त्वपूर्ण सबै कुरा मापन गर्न सकिँदैन। केवल बल पोजेसनले मात्र खेल जितिँदैन।’

स्पेनको विश्वकप जितबाट क्लब फुटबलका प्रशिक्षकहरूले सिक्नुपर्ने मुख्य पाठ यही हो।

केवल पास सङ्ख्या बढाएर स्पेन बन्न सकिँदैन, विपक्षीको रणनीति बुझेर बल बिनाको अवस्थामा मैदानमा देखाइने आक्रामकता नै आधुनिक फुटबलको वास्तविक कडी हो।

साउन ५, २०८३ मंगलबार ११:४९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।