फुटबलको विकास कि व्यापार? विश्वकपलाई ६४ टोलीको बनाउने फिफाको तयारीले बढाएको बहस
एजेन्सी : जियानी इन्फान्टिनो फिफा अध्यक्ष भएको १० वर्षको कार्यकालबाट एउटा कुरा प्रष्ट भइसकेको छ- धेरै नै राम्रो हो। धेरै प्रतियोगिता, धेरै खेल अनि धेरै पैसा।
क्लब विश्वकपको नयाँ स्वरूप, विश्वकपमा बढाइएको टोली सङ्ख्या र महँगिएको टिकट दर यसैका उदाहरण हुन्। तर, इन्फान्टिनो यतिमै रोकिनेवाला छैनन्। उनले विश्वकपलाई अझै विस्तार गरेर ६४ टोलीको बनाउने ढोका खुला गरेका छन्।
‘यदि तपाईंले साना देशहरूलाई सहभागी हुने मौका दिनुभएन भने, उनीहरूसँग आफ्नो खेल सुधार्ने प्रोत्साहन नै हुँदैन’, इन्फान्टिनोले भनेका छन्।
यद्यपि, साना देशहरूलाई विश्वकप खेल्न वञ्चित गरिएको भने होइन। यदि उनीहरू उत्कृष्ट छन् भने छनोट भएरै आउँछन्।
प्रतियोगिताको फर्म्याटको हिसाबले मात्र हेर्ने हो भने ६४ टोलीको अवधारणा तार्किक नै देखिन्छ। १६ वटा समूह हुनेछन् र प्रत्येक समूहका शीर्ष दुई टोली सिधै नकआउट चरणमा प्रवेश गर्नेछन्।
यसले गर्दा तेस्रो हुने केही टोलीलाई पनि नकआउटमा लैजानुपर्ने अहिलेको झन्झटिलो बाध्यता हट्नेछ। तर, के विश्वकपलाई ६४ टोलीको बनाउनुको पछाडि अरू कुनै तार्किक कारण छ त?
यो प्रस्तावको पछाडि को छ ?
सन् २०३० को विश्वकप उरुग्वेमा पहिलो विश्वकप आयोजना भएको १०० वर्ष पुगेको अवसरमा हुँदैछ। यसको मुख्य आयोजक मोरक्को, पोर्चुगल र स्पेन हुन्, तर सुरुआती तीन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन्।
दक्षिण अमेरिकी फुटबल महासङ्घ (कन्मेबोल) धेरै खेल चाहन्छ। उसले सन् २०२५ को अप्रिलमा थप चार समूह समावेश गर्न सजिलो होस् भनेर एक पटकका लागि ६४ टोलीको विश्वकप आयोजना गर्न प्रस्ताव गरेको थियो।
कन्मेबोलका अध्यक्ष अलेजान्ड्रो डोमिन्गेजले ‘यस ग्रहको कोही पनि यो उत्सवबाट छुट्नु हुँदैन’ भन्दै यसको बचाउ गरेका थिए।
तर, अन्य महासङ्घहरूबाट यसलाई समर्थन मिलेको छैन। युरोपेली फुटबल महासङ्घ (युइएफए)का अध्यक्ष अलेक्जेन्डर सेफेरिनले यसलाई प्रतियोगिता र छनोट प्रक्रिया दुवैका लागि खराब विचार भनेका छन्।
उत्तर तथा मध्य अमेरिकी महासङ्घ (कनकाकाफ) का अध्यक्ष भिक्टर मोन्टाग्लियानी र एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष शेख सलमानले पनि यो कदमले फुटबलको इकोसिस्टम बिगार्ने र अराजकता ल्याउने बताएका छन्।
यति हुँदाहुँदै पनि फिफा काउन्सिलका ३७ सदस्यले निर्णय गर्ने भएकाले यो लागू नै हुँदैन भन्न भने सकिँदैन।
के यसले विश्वकपको साख गिराउँछ ?
६४ टोलीको प्रतियोगिता बनाउँदा दुईवटा फाइदा छन्: पहिलो, नकआउटको स्पष्ट र प्राकृतिक ढाँचा बन्नेछ अनि दोस्रो, उदीयमान राष्ट्रहरूले अवसर पाउनेछन्। इन्फान्टिनोले यही दोस्रो बुँदालाई हतियार बनाएका छन्।
तर, यसले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर भने ह्वात्तै घटाउनेछ। धेरै टोली थपिँदा समूह चरणमा कुनै रोमाञ्चकता रहने छैन। शीर्ष टोलीहरू (जस्तै: फ्रान्स, जर्मनी, स्पेन) समूह चरणबाटै बाहिरिने सम्भावना लगभग शून्य हुनेछ।
त्यस्तै, थपिएका नयाँ टोलीहरू कुन महादेशबाट आउँछन् भन्ने प्रश्न पनि छ। एसिया र कनकाकाफ जस्ता तुलनात्मक रूपमा कमजोर महादेशबाट धेरै टोली आउँदा खेल एकतर्फी हुन सक्छन्।
यसले समूह चरणलाई केवल एउटा औपचारिकतामा सीमित गरिदिन सक्छ। फिफाका २११ सदस्य राष्ट्रमध्ये झण्डै एक तिहाइ देश विश्वकपमा सहभागी हुनेछन्।
प्राविधिक र लजिस्टिक चुनौती
६४ टोलीको विश्वकप आयोजना गर्नु प्राविधिक रूपमा अत्यन्तै चुनौतीपूर्ण छ। थप चारवटा समूह थप्नुको अर्थ हो- थप २४ वटा खेल बढ्नु। यसका लागि प्रतियोगिता कम्तीमा थप ५ दिन लम्ब्याउनुपर्ने हुन्छ।
जलवायु परिवर्तनका कारण दिउँसोको समयमा खेल खेलाउन झनै गाह्रो हुँदै गएको छ। यसका साथै, धेरै रङ्गशाला, ६४ वटै टोलीका लागि उच्च स्तरका प्रशिक्षण मैदान, हजारौं समर्थकका लागि होटल र यातायातको विशाल पूर्वाधार आवश्यक पर्छ।
अब कुनै पनि एउटा देशले मात्र विश्वकप आयोजना गर्न असम्भव जस्तै बन्दै गएको छ। साउदी अरेबिया जस्तो धनी देशलाई पनि यो फलामको चिउरा सरह हुनेछ।
के यो विस्तार पैसाकै लागि हो ?
इन्फान्टिनोले फिफाको अध्यक्षमा चुनाव जित्दा फुटबलमा धेरै पैसा ल्याउने मुख्य वाचा गरेका थिए।
अहिले विश्वभरका प्रत्येक फुटबल सङ्घले ४ वर्षमा ८० लाख डलर भन्दा बढी अनुदान पाउँछन्। साना राष्ट्रहरूले थप अनुदान पाउँछन्। महासङ्घहरूले फुटबल विकासका लागि ६ करोड डलर पाउँछन्।
यही पैसाको बलमा साना राष्ट्रहरूको भोट तानेर इन्फान्टिनो अर्को वर्ष पनि निर्विरोध निर्वाचित हुने सम्भावना छ। यो पैसा वितरण गर्न फिफालाई ठूलो आम्दानी चाहिन्छ, जुन विश्वकपबाट मात्र सम्भव छ।
सन् २०१७ मा फिफाले ४८ टोलीको विश्वकपबाट ६.५ अर्ब डलर कमाउने लक्ष्य राखेको थियो। अहिले खेल सङ्ख्या बढाएपछि फिफाले यो वर्ष ९ अर्ब डलर कमाउने अपेक्षा गरेको थियो। तर आम्दानी त्यो भन्दा पनि बढी १५ अर्ब डलर भयो।
यदि टोली सङ्ख्या ६४ पुग्यो भने टेलिभिजन अधिकार, प्रायोजक र टिकट बिक्रीबाट यो रकम अझै विशाल हुनेछ।
फिफा फुटबलको विकास गर्ने आफ्नो दायित्व भएको दाबी गर्छ र यसको मुख्य औजार भनेकै ‘धेरैभन्दा धेरै फुटबल खेल’ हो भन्ने ठान्छ। तर आलोचकहरू भन्छन्- विस्तारको पनि एउटा सीमा हुन्छ, जहाँ पुगेपछि त्यो फुटबल र प्रतियोगिताको हितमा रहँदैन।
साउन ५, २०८३ मंगलबार ०८:३६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।