आईसीसी लिग-२ : नेदरल्यान्ड्समा नेपालको कठीन परीक्षा आजबाट, पहिलो खेलमा नामिबियासँग भिड्दै
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज मैदान उत्रिँदै छ।
नेदरल्यान्ड्सको युट्रेक्टमा हुने शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।
नेपालका लागि यो शृङ्खला एकदिवसीय विश्वकप छनोट यात्रा र ओडीआई मान्यता जोगाउन निकै निर्णायक मानिएको छ।
लिग-२ को अंकतालिकामा शीर्ष चारमा रहने टोलीले सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन् भने शीर्ष छ भित्र रहने टोलीको ओडीआई मान्यता सुरक्षित रहनेछ।
हाल नेपाल २८ खेलबाट २८ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा छ। नेपालको प्रतिद्वन्द्वी नेदरल्यान्ड्स २८ खेलमा ३२ अंकका साथ तेस्रो स्थानमा छ भने नामिबिया २८ खेलमा २२ अंकका साथ सातौं स्थानमा रहेको छ।
घरेलु मैदानको लय विदेशी भूमिमा दोहोर्याउने चुनौती
केही समयअघि मात्रै २० खेलबाट १२ अंकसहित सातौं स्थानमा खुम्चिएको नेपालले घरेलु मैदान कीर्तिपुरमा सानदार प्रदर्शन गरेको थियो।
ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्धका आठमध्ये छ खेल जित्दै नेपालले १२ महत्त्वपूर्ण अंक जोडेर आफूलाई पुनः पाँचौं स्थानमा उकालेको हो। घरेलु मैदानको सोही लयलाई अब विदेशी परिस्थितिमा पनि निरन्तरता दिने नेपालको मुख्य चुनौती हुनेछ।
नेदरल्यान्ड्सपछि नेपालले ओमानमा ओमान र क्यानडाविरुद्ध अर्को शृङ्खला खेल्नेछ। कप्तान रोहित पौडेलले टोलीले ब्याटिङ, बलिङ र फिटनेसमा बढी काम गरेको र लक्ष्य विश्वकप छनोटमै केन्द्रित रहेको बताएका छन्।
त्यस्तै पेस बलर सोमपाल कामीले टोलीको वर्तमान लयलाई कायम राख्दै शीर्ष चारभित्र पर्ने गरी नतिजा निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अभ्यास खेलमा सानदार प्रदर्शन
नेदरल्यान्ड्सको मौसम, सीम र स्विङलाई सहयोग गर्ने पिचसँग अनुकूल हुन नेपालले यसअघि जर्सीसँग दुईवटा एकदिवसीय अभ्यास खेल खेलेको थियो। नेपालले दुवै खेलमा जित हात पार्दै राम्रो तयारी गरेको सङ्केत दिएको छ।
पहिलो खेलमा कुशल भुर्तेलको शतक तथा हेमन्त धामी र आरिफ शेखको उत्कृष्ट बलिङ मद्दतले नेपाल ८१ रनले विजयी भएको थियो।
दोस्रो खेलमा २८३ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले प्रभावित भए पनि डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा नेपाल ७ रनले विजयी भयो, जसमा इशान पाण्डेले ९० रनको महत्त्वपूर्ण योगदान दिएका थिए।
खेलाडीहरूको व्यक्तिगत लय
हाल नेपाली खेलाडीहरू व्यक्तिगत रूपमा उत्कृष्ट लयमा देखिएका छन्।
पछिल्ला पाँच ओडीआईमा एक शतकसहित २०२ रन बनाएका कुशल भुर्तेलले जर्सीसँगको अभ्यास खेलमा पनि एक शतक र एक अर्धशतक प्रहार गरे।
ओडीआईका पछिल्ला तीन इनिङ्समा ८४, ५५ र २०* रन बनाएका इशान पाण्डेले पनि अभ्यास खेलमा पनि ९० रन जोडे।
उप-कप्तान दीपेन्द्रसिंह ऐरीले पछिल्ला ८ खेलमा एक शतक र तीन अर्धशतकसहित ३८४ रन बनाउनुका साथै ११ विकेट लिएका छन्।
लेग स्पिनर सन्दीप लामिछाने पछिल्ला ८ खेलमा १९ विकेट लिएका उनी पछिल्ला १३ खेलमा लगातार विकेट लिन सफल भएका छन्।
आज नामिबियाको सामना गर्ने नेपालले बिहीबार नेदर नेदरल्यान्ड्स, ११ साउनमा नामिबिया र १३ साउनमा फेरि नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।
रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल, दीपेन्द्र, इशान र सन्दीपसँगै आसिफ शेख, विनोद भण्डारी, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र अर्जुन कुमाल छन्।
साउन ५, २०८३ मंगलबार १४:०५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।