गौँथली : रुने  दर्शक कि निर्माता !

गौँथली : रुने  दर्शक कि निर्माता !

नेपाली चलचित्र बजारको एउटा प्रवृत्ति छ, यहाँ कि त हँसाउने कथा चल्छ, कि त रुवाउने। एक्सन चलचित्रलाई त दर्शकले टाटा, बाईबाई नै भनिसके भन्दा फरक पर्दैन। त्यसको विकल्पमा बजारमा टिक्न र बिक्न निर्माताहरूका लागि दर्शकको ग्वाँ-ग्वाँ रुवाइ नै सबैभन्दा सुरक्षित हतियार हो भन्ने लागेको देखिन्छ। दुई वर्षदेखि हलमा ओइरो लागेका भावुकताले भरिएका फिल्मले यही देखाउँछ।

निर्देशक डा. कपिल रिजालले यसअघि जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर बनाएको ह्यारी कि प्यारीले दर्शक हँसाउन सकेन। निर्मातालाई मात्र रुवायो। यो पटक हलमै दर्शक रुवाएर बक्स अफिस कलेक्सन हेर्दै आफू हाँस्ने रणनीति अनुसार २५ वर्षअघि रिलिज भएको गीति-कथामा आधारित चलचित्र गौँथलीलाई पर्दामा ल्याए।

यसपटक दर्शक रुवाउने बाटो रोजेका उनका लागि सञ्जालको प्रतिक्रिया हेर्दा केही हदसम्म सफल भएकी क्या हो झैँ देखिन्छन्।  सञ्जालमा 'हलमा दर्शक रोए' भन्दै आउने भिडियोको संख्या बढेको छ। तर के यो फिल्मले वास्तवमै हलमा दर्शकलाई बाँधेर राख्न सक्यो त? 

कथासार

यो कथा करिब तीन दशक अघिको दुइवटा गाउँको पृष्ठभूमिमा आधारित छ। विद्यालयमा कक्षा ८ मा पढ्दै गरेकी गौँथली (सिम्रन खड्का) पढाइमा निकै जेहेन्दार छिन्। गाउँकै विद्यालयका हेडमास्टर मदनकृष्ण श्रेष्ठ आफ्ना गाउँका छात्राहरूले कक्षा ७-८ पुग्ने बित्तिकै विवाह गरेर पढाइ छोड्नु परेकोमा चिन्तित छन्। गौँथलीले मास्टरसामु आफूले जसरी पनि एसएलसी पास गरेर नयाँ रेकर्ड राख्ने प्रतिज्ञा गर्छे,  मास्टर खुसी हुन्छन्।

तर, गौँथलीको जीवनमा नयाँ मोड तब आउँछ जब एउटा धनी परिवारबाट लमी (बेगम नेपाली) मार्फत विवाहको प्रस्ताव आउँछ। बिरामी हजुरआमाले ओछ्यानबाटै नातिनीको विवाह देख्न पाए स्वर्ग पुग्थेँ भन्दै भावनात्मक दबाब दिन्छिन्। केटाको अवस्था र स्वभाव कस्तो छ भन्ने नबुझी, केवल धन सम्पत्ति हेरेर बाबुआमाले छोरीको विवाह ‘माइल्ड अटिजम’ भएको ठुले (अरुण क्षेत्री) सँग गरिदिने निधो गर्छन्। छोरीको मन्जुरी बिना नै धम्क्याएर उनलाई ठूलेसँग बिदा गरिन्छ।

विवाहपछि गौँथलीले थाहा पाउँछिन् कि उसका श्रीमान् त शारीरिक रूपमा वयस्क भए पनि मानसिक रूपमा बालक जस्तै छन्। एकातिर घरको कडा काम र गाउँलेको ताना, अर्कोतिर पढ्ने तीव्र इच्छा। सासुको आँखा छलेर ठूलेकै सहयोगमा जब गौँथली परीक्षा दिन जान्छे, ठूलेले बाख्रा हेरिदिन्छ उनी पढाइ अगाडि बढाउँछिन् र दुवैबीच एउटा अबोध प्रेम पलाउँछ।

तर, सासुले पढेको थाहा पाएपछि गौँथलीमाथि चरम अत्याचार सुरु हुन्छ। पछि गौँथलीले मृत बच्चा जन्माएपछि सासुले मेरो नाति मार्ने आरोप लगाउँदै कुटपिट गरी घरबाट निकालिदिन्छिन्। र उनी भीरबाट लड्छिन्। त्यसपछिको के हुन्छ? त्यसका लागि फिल्म हेर्न हलै जानु पर्छ। सबै कथा यहाँ लेख्न मिल्दैन।

बलियो पक्ष

चलचित्र सुरु भएको १५ मिनेटदेखि नै दर्शकलाई कथाले एकहदसम्म बाँधेर राख्ने प्रयास गरेको छ। निर्देशक रिजालले कथालाई भद्दा वा झ्याउँलाग्दो बनाएका छैनन्। सकेसम्म बगाउने प्रयास गरेको देखिन्छ। बुबाले समाजको डरले अटिजम भएको युवासँग विवाह गरिदिँदाको क्षण, ठूलेले बाख्रा हेरिदिएर गौँथलीलाई पढ्न पठाएको दृश्य, र मृत बच्चा जन्माउँदा ठूलेले गौँथलीप्रति दर्साएको अबोध मायाले दर्शकको मन चसक्क छुन्छ।

चलचित्रमा समावेश ‘आँखाभरि आँसु पारी’ र ‘भनिदेऊ प्रभु मैले के बिराएँ’ जस्ता गीतहरूले कथाको मर्मलाई न्याय गरेका छन्। पृष्ठभूमि संगीत दृश्य सुहाउँदो नै छ।

कमजोरी

चलचित्रको सबैभन्दा कमजोर पक्ष मुख्य पात्र ठूलेको अभिनय हो। सुरु र अन्त्यमा अटिजमको हाउभाउ मिले पनि चलचित्रको मध्यभागमा उनी पूर्ण रूपमा सामान्य मानिस जस्तै देखिन्छन्। उनको मुख बङ्गाई र हातको भावभङ्गी कतिपय दृश्यमा सामान्य मान्छेको जस्तै हुँदा चरित्रको गहिराइ मरेको अनुभव हुन्छ। 

कक्षा ८ मा पढ्दा र पछि एसएलसी पास गर्दासम्म गौँथली र ठूलेको रूप, उमेर र शारीरिक बनोटमा कुनै परिवर्तन देखिँदैन। एउटै कलाकारले दुवै समयको भूमिका निभाउँदा अपरिपक्व देखिन्छ।

३० वर्षअघिको कथा भनिए पनि कलाकारहरूको 'ड्रेसअप' र लत्ताकपडा एकदमै आधुनिक र नयाँ देखिन्छन्, जसले गर्दा दृश्य प्राकृतिक लाग्दैन। मृत बच्चा जन्माएपछि सासुले बुहारीलाई लछारपछार पार्ने र भीरबाट खसाउने जस्तो संवेदनशील दृश्यमा पृष्ठभूमि संगीत कसिलो हुन सकेको सुनिएन।

चलचित्र ‘ह्यारी कि प्यारी’  हेर्ने दर्शकका लागि त्यसको तुलनामा यसमा निर्देशक कपिल रिजालले आफ्नो निर्देशकीय खुबी सुधार गरेको अनुभव हुन्छ। तर, कास्टिङ र क्यारेक्टर डिजाइनमा निर्देशकीय टोली पुनः चुकेको छ। 

गौँथलीको बाल्यकाल र वयस्क उमेरका लागि दुई फरक कलाकार राखेको भए र ठूलेको हाउभाउको एकरूपतामा ध्यान दिएको भए चलचित्र अझ बलियो बन्न सक्थ्यो। अब ‘ह्यारी कि प्यारी’ ले हँसाउन नसकेको निर्मातालाई गौँथलीको व्यापारले हँसाउँछ कि रुवाउँछ? त्यो त बक्स अफिसको अर्को सोमबारको रिपोर्टले नै बताउनेछ।

साउन ३, २०८३ आइतबार २०:४०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।