हलमा फिल्म टिकाउन भाडाका दर्शकको भर

हलमा फिल्म टिकाउन भाडाका दर्शकको भर

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय एउटा अस्वस्थ अभ्यास भित्रिएको छ-फिल्म चलाउन निर्माता आफैँले खर्चेर टिकट काट्ने र हल भर्ने। करोडौं रुपैयाँ लगानी गरेर फिल्म बनाए पनि तोके अनुसार हलको सिट नभरिए शो घट्ने भएपछि शो संख्या जोगाउन निर्माताहरू आफैँ टिकट काटेर भाडाका दर्शकको भरमा फिल्म चलाउन बाध्य भएका छन्।

पहिला त फिल्म रिलिज हुने दिन हलमा शोहरु पाउनै मुस्किल, त्यसमा पनि तोकिए अनुसार टिकट विक्री नभए हलले शो समय घटाइदिन्छन्। त्यसको विकल्पमा निर्माता आफैँले आफ्नो फिल्मको टिकट काटेर भाडाका दर्शक खोज्छन्। दर्शक पाए ठिकै, नत्र टिकट हेर्यो अधिकांश विक्री भएका देखिन्छन्। तर हलका सिट रित्तै।  

गत असार ५ गते रिलिज भएको फिल्म ‘आइएम जित बहादुर’ सोही भुमरीमा पर्यो। झण्डै १ करोड ६० लाख रूपैयाँभन्दा बढी लागतमा बनेको फिल्मले प्रचारप्रसार राम्रै गर्यो। तर फिल्म हलमा टिकाउन भाडाका दर्शक खोज्नु पर्यो। तै पनि ३१ लाख रुपैयाँ मात्र ग्रस कलेक्सन गर्यो।

फिल्म बनाउँदा पनि पैसा हाल्नुपर्ने र चलाउन पनि बोराका बोरा पैसा हाल्नुपर्ने भन्दै रिलिज हुनु २ दिन अघिसम्म अभिनेता तथा निर्माता जितु नेपालले सार्वजनिक रूपमा गुनासो गरेका थिए। फिल्म वितरकले समेत फिल्म हलमा टिकाइराख्न टिकट किन्ने तयारी गर्न सुझाव दिएको उकेराकै अन्तर्वार्तामा खुलाएका थिए। 

निर्माण लागत उठ्ने–नउठ्ने चिन्तामै रहेका जितुले अन्ततः केही दिन आफैँले टिकट किनेर भाडाका दर्शकको भरमा हल भराएको स्वीकार गरे। तर उनले कति टिकट किने त्यो खुलाएनन्। प्रदर्शनको केही दिन हलमा पुगेर दर्शकसँग भेटघाट गरे पनि अपेक्षित प्रतिक्रिया नआएपछि उनले सार्वजनिक रूपमा असन्तुष्टि पोखे। 

निर्माताले आफैं टिकट किन्ने अभ्यास नयाँ भने होइन। यसअघि ब्लकबस्टर बनेको ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले नै फिल्म प्रदर्शनका क्रममा करिब १२ लाख रुपैयाँ बराबरको टिकट आफैँले किनेको खुलाएका थिए। तर फिल्मले दर्शकको सकारात्मक 'वर्ड अफ माउथ' पाएका कारण व्यावसायिक रूपमा निकै सफल भयो।

यद्यपि सबै फिल्मको व्यावसायिक यात्रा समान हुँदैन। यस वर्ष ‘लालीबजार’ बाहेक अन्य अधिकांश नेपाली फिल्मले अपेक्षित दर्शक पाउन सकेनन्। 'लालीबजार' करिब तीन लाखभन्दा बढी दर्शकले हेरेको देखिन्छ। त्यसमा भाडाका दर्शक कति थिए खुलेको छैन।

फिल्म‘लालीबजार’ का कार्यकारी निर्माता प्रदीप भट्टराईले आफ्नो टिमले फिल्म हलमा टिकाउन टिकट नकिनेको दाबी गर्दै राम्रो फिल्म भए दर्शकको इमानदार प्रतिक्रिया नै सबैभन्दा ठूलो प्रचार भएको बताए।

"यत्रो दुःख गरेर बनाएको सिनेमा। दर्शकको सामु राम्रो छ भनेर सन्देश पुर्याउन टिकट काटेर वा रिभ्यु किनेर दर्शक झुक्याउनु हुँदैन। अहिले सोसल मिडियामा, १ जना पब्लिकको मात्रै अनेस्ट रिभ्यु आयो भने त्यो फैलिन १ घण्टा काफी छ" भट्टराईले दाबी गरे।

उनले  टिकट काटेर दर्शकलाई फिल्म राम्रो छ भन्नु दर्शकमाथि सरासर अन्याय भएको समेत बताए।  तर उनको दाबी पत्यार लाग्दो देखिन्न। वादी अधिकारवादीहरुको निरन्तर विरोधका कारण फिल्म विवादमा तानिएको थियो। विवाद फिल्मलाई फाप्यो।

उनले थपे, "फिल्म बनाउने, त्यसपछि टिकट काटेर फेरि दर्शकलाई हेराउने भनिसकेपछि त्यो त सिनेमाको लागि भन्दा पनि दर्शकलाई अन्याय भयो जस्तो लाग्छ। दर्शकले म यो सिनेमा हेरिराखेको छु अथवा यो सिनेमाको रिभ्यु हेरेर जान्छु भन्न पाउने अधिकार हो नि त, हैन र? त्यस कारण टिकट काटेर आफ्ना आफन्त बोलाएर फिल्म राम्रो छ भन्दै भन्न लगाउनु दर्शक ढाँट्नु हो। हामी नढाँट्ने पक्षमा हौँ।"

उनले अब साथी हो, फेरि नराम्रो भने चित्त दुखाउला भनेर सेलिब्रेटीहरूले सत्य रिभ्यु नदिइकन झुट बोल्दा पनि दर्शकले पत्याउन छाडेको तर्क गरे। अब लास्ट साँच्चिकै जसले पैसा तिरेर हेरेको छ, उसले आफ्नो पैसा, समय सबैलाई ध्यान गरेर राम्रो–नराम्रो भनेमा त्यसको प्रभाव पर्ने उनको तर्क छ।

फिल्म निर्देशक दीपेन्द्र लामाले टिकट काटेर फिल्म हलमा देखाउने परिपाटी राम्रो नभएको भन्दै टिकट काटेर घर घर चोक-चोकमा लगिदिने सिस्टमले फिल्मका निर्माताहरू मर्कामा पर्दै गएको बताए।  सित्तैमा टिकट पाउन थालेपछि दर्शकमा 'पैसा तिरेर हल नजाने' मानसिकता विकास भएको उनको बुझाइ छ।

"अब तत्काल टिकट काटेर हलमा दर्शक लैजाने परिपाटीले गर्दा तत्काल हलमा चाहिँ अलिकति सहज होला," उनले भने, "तर, यसले लङटर्ममा निर्माताहरूलाई नै गाह्रो पुर्याउने काम हो। विगत दुई वर्षदेखि, दुई–तीन वर्ष भयो होला यो सुरु भएको हो। अहिले चाहिँ जो पनि अब फ्रीमा टिकट आउँछ भनेर हलमा नजाने खालको मेन्टालिटी देखिइसक्यो दर्शकहरुमा। यो राम्रो कुरा होइन, निर्माताका लागि।"

लामाका अनुसार हलमा बहुसङ्ख्यक फिल्म लाग्दा हलवालाले धेरै टिकट बिक्ने फिल्मलाई बढी शो दिने र इमानदार निर्माताको शो कटौती गर्ने भएकाले पनि निर्माताहरू बाध्य भएर यो अस्वस्थ प्रतिस्पर्धामा होमिएका हुन्।

उनले उदाहरण दिँदै भने, "अब ‘ए’ भन्ने फिल्मको निर्माताले पुरै टिकट किनेपछि अब उसको फिल्ममा रातो देखिन्छ। शो रातै देखिएपछि भोलीपल्टबाट हलवालाले उसलाई शो बढि दिन्छ। अब ‘बी’ वाला निर्माता चाहिँ इमानदार साथ जति दर्शक आउँछ त्यति नै म टिकट बेच्छु भनेर बस्यो भने ‘बी’ वाला निर्माताको फिल्मको शो त हलवालाले कटौती गर्ने भयो। अनि बाध्य भएर ‘बी’ वाला निर्माताले पनि टिकट काट्छ। अस्वस्थ प्रतिस्पर्धाको वातावरणले पनि यस्तो अवस्था सिर्जना भयो। यो खराब प्रवृत्ति भित्रियो।" 

अभिनेत्री तथा निर्मात्री पूजा शर्मा टिकट काट्ने परिपाटी आफूलाई पटक्कै मन नपरेको बताउँछिन्। आफूले आफ्नो फिल्मका लागि कहिल्यै टिकट नकाटेको दाबी गरिन्। तर फिल्म चल्नु गुणस्तरमा भन्दा पनि भाग्यमा तर हुने तर्क गरिन्।

"यो भाग्यको खेल हो। भाग्यमा राम्रो लेखेको छ भने,फिल्म राम्रै भएर पनि जान्छ। नराम्रो लेखेको छ भने राम्रै फिल्म भए पनि दर्शक आउनुहुन्न। टिकट काटेर मूर्ख बन्नु र अरूलाई मूर्ख बनाउनु जस्तो नराम्रो चिज केही पनि होइन। घर परिवारले नै हेर्नका लागि २,४ वटा टिकट काट्नु बेग्लै कुरा हो। नत्र त यो निर्माता डुब्नु बाहेक केही होला जस्तो लाग्छ।"

फिल्म बनाउन पनि पैसा लगाउनुपर्ने, हलमा चलाउन पनि पैसा लगाउनुपर्ने भएपछि कलाकारहरूको काम के भन्दै उनले हलमा दर्शक ल्याउन सक्ने क्षमता राख्न नसक्ने कलाकारलाई महंगो पारिश्रमिक दिनुको अर्थ नहुने बताइन्। 

उनले थपिन्, "निर्माताहरूले कलाकारहरूको एउटा सास फेरेको पैसा मात्रै तिर्न बाँकी छ। निर्माताहरूले यतिसम्म दुख पाउँछन् कि कुरै नगरौँ। कुन दिन सास फेरेको पनि चार्ज नलेलान् भन्न सकिँदैन। प्रोड्युसरहरुले के कसरी पैसा ल्याएर फिल्म बनाइरहेका छन्। त्यो कलाकारहरूले बुझ्दैनन्। निर्माता जस्तो मान्छेलाई अहिले कलाकारहरूले गए गुज्रेको ठान्छन्, जो विना न उनीहरू कलाकार बन्छन् न फिल्म नै बन्छ। निर्माताको भ्यालु छैन जतिकै भइसकेको देख्छु।"

केही महिनाअघि एक कार्यक्रममा बोल्दै निखिल उप्रेतीले पनि यो प्रवृत्तिको चर्को आलोचना गरेका थिए। हलिउड वा बलिउड जस्ता विश्वका ठूला फिल्म उद्योगहरूमा कतै पनि निर्माताले आफैँ टिकट किनेर फिल्म चलाउने चलन नभएको उल्लेख गर्दै उनले नेपाली सिनेमा क्षेत्रमा दर्शक झुक्याउने यस्ता हर्कत बन्द गर्न आग्रह गरेका थिए।

कस्तो छ हलको नियम ?

प्राय नेपालमा हरेक साता शुक्रवार फिल्म रिलिज हुने गरेको छ। फिल्म रिलिज हुने दिन फिल्म निर्माण टिम,कलाकार र फिल्मको चर्चा कस्तो छ त्यसको आधारमा हल सञ्चालकहरूले फिल्म प्रदर्शनका लागि समय र संख्या तोक्ने गरेका छन्।

यसमा प्राय शो सुरु हुनका लागि कम्तीमा १० देखि १५ वटा टिकट बिक्री भएको हुनुपर्छ। यदि शो सुरु हुनु अघिसम्म यो सङ्ख्या पुगेन भने शो रद्द हुने गरेको छ। प्रतिशतको हिसाबले हेर्दा  हलको कुल सिट क्षमताको करिब ५ देखि १० प्रतिशत सिट बूकिङ नभएर शो रद्द हुन्छ।

फिल्म रिलिज भएको दिन कुन हलमा कति प्रतिशत दर्शक आए त्यसको आधारमा समय र संख्या थपघट गर्ने गरिन्छ। यदि तोकिए अनुसारको हलको टिकट विक्री नभए शो हट्छ। शो हट्दा आउन सक्ने दर्शकले फिल्म हेर्न नसक्ने भन्दै अनि फिल्म निर्माण टिमले नै हलहरूमा रहेको प्राइम टाइमका शोहरु जोगाउन आफैँ टिकट किनेर हल पुरै भरिए झैँ देखाउने गर्छन्।

जानकारहरूका अनुसार प्राय फिल्म निर्माताहरूले फिल्म रिलिज भएको तीन दिन अर्थात् शुक्रवारदेखि आइतबारसम्म भाडाका दर्शक खोजेर हलमा फिल्म टिकाउने प्रयास गर्छन्। तीन दिन शो टिकाउन सके बिस्तारै फिल्म हेरेका सक्कली दर्शकबाट आउनसक्ने सकारात्मक प्रभावले अन्य दर्शकहरू हलमा आउनसक्ने अपेक्षा गरिन्छ। आइतबारसम्म पनि हलमा दर्शकको चाप बढ्न सकेन भने भाडाका दर्शक खोज्नेक्रम घट्दै जान्छ।

साउन ४, २०८३ सोमबार १८:१३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।