फाइनलपछि अर्जेन्टिनी खेलाडीको हर्कतविरुद्ध फिफाले थाल्यो अनुसन्धान, ४ खेलाडीमाथि लाग्न सक्छ कडा प्रतिबन्ध !
एजेन्सी : विश्वकप फुटबलको फाइनल खेलको अन्तिम सिट्ठी बजेपछि मैदानमा अर्जेन्टिनी खेलाडीले देखाएकाे उश्रृंखल र आक्रामक गतिविधिविरुद्ध विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको छ।
फिफाको अनुशासन समितिले मेटलाइफ स्टेडियममा भएको उक्त घटनाको सुक्ष्म मूल्याङ्कन गर्न एक जना अनुशासन तथा नैतिकता सम्बन्धी अभियोजक नियुक्त गरिसकेको छ।
यस घटनामा दोषी पाइएमा घटनामा संलग्न अर्जेन्टिनाका खेलाडी र प्रशिक्षकहरूले कडा प्रतिबन्धको सामना गर्नुपर्नेछ भने अर्जेन्टिनी फुटबल संघलाई भारी जरिवाना हुनसक्ने फिफाले जनाएको छ।
मैदानमा के भएको थियो?
आइतबार भएको फाइनल खेलमा स्पेनसँग १-० ले पराजित भएलगत्तै अर्जेन्टिनी टोलीका सदस्यहरू र प्रशिक्षक टोलीले खुसियाली मनाइरहेका स्पेनी खेलाडीहरूसँग हातपात गरेका थिए।
अतिरिक्त समयमा मैदान बाहिरिएका स्पेनका मिडफिल्डर रोड्री खुसियाली मनाउन मैदान छिर्ने क्रममा अर्जेन्टिनाका डिफेन्डर नहुएल मोलिनाले उनलाई हात वा पेटमा मुक्का हानेपछि विवाद सुरु भएको थियो।

त्यसपछि स्पेनी डिफेन्डर एरिक गार्सिया आफ्ना सहकर्मीलाई जोगाउन त्यहाँ पुग्दा अर्जेन्टिनाका लिआन्ड्रो पारेडेसले उनको घाँटी अठ्याएका थिए।
विवाद सुल्झाउन गएका स्पेनका अर्का खेलाडी गाभीलाई थियागो अल्माडा र पारेडेसले अनुहारमा धकेल्दै भुइँमा लडाएका थिए। यति मात्र नभई, अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयलाले समेत गार्सियाको घाँटी समात्नुका साथै स्पेनका मिडफिल्डर ड्यानी ओल्मोलाई हिर्काएको देखिएको छ।
सुरुमा रेफ्रीले पारेडेसलाई रेड कार्ड दिएको भनिए पनि पछि फिफाले त्यसलाई खारेज गर्दै खेलकै दौरान तत्काल कुनै कारबाही नभएको पुष्टि गरेको छ। यद्यपि, अर्जेन्टिनाका एन्जो फर्नान्डेज भने दोस्रो हाफको इन्जुरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिसकेका थिए।
कडा आलोचना र प्रशिक्षकको बचाउ
यस घटनालाई लिएर फुटबल विश्लेषकहरूले कडा आपत्ति जनाएका छन्।
बीबीसीका खेल पण्डित एलन शियररले पारेडेसको व्यवहारको कडा आलोचना गर्दै भनेका छन्, ‘हारको पीडा हामी बुझ्न सक्छौँ, तर हार स्वीकार गर्ने एउटा तरिका हुन्छ। अर्जेन्टिनाबाट हामीले पटक-पटक यस्तो देखेका छौँ। अन्तिम सिट्ठीपछिको उनीहरूको प्रतिक्रिया निकै भयानक थियो।’

अर्का विश्लेषक जो हार्टले यसलाई घृणित व्यवहारको संज्ञा दिएका छन्।
तर, अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने घटनालाई सामान्यीकरण गर्ने प्रयास गरेका छन्। उनले भने, ‘हामी जितमा पनि शालीन हुन्छौँ र हारमा पनि शालीन हुनुपर्छ। हामीले खेल हार्यौँ र त्यसलाई स्वीकार गरेका छौँ।’
के कारबाही हुन सक्छ?
फिफाको अनुशासन संहिताको धारा १३ अन्तर्गत शिष्ट आचरणका आधारभूत नियमहरूको उल्लङ्घन र फुटबल वा फिफालाई बदनाम गराउने व्यवहार को आधारमा कारबाही प्रक्रिया अगाडि बढ्नेछ।
यसअघि यही नियमअन्तर्गत महिला विश्वकप फाइनलमा विवादित चुम्बन गरेपछि स्पेनिस फुटबल संघका तत्कालीन अध्यक्ष लुइस रुबियालेसलाई ३ वर्षको प्रतिबन्ध लगाइएको थियो भने सन् २०१४ मा इटालियन खेलाडीलाई टोकेको आरोपमा उरुग्वेका लुइस स्वारेजलाई ४ महिनाको प्रतिबन्ध लगाइएको थियो।
यद्यपि, अर्जेन्टिनी खेलाडीहरूले त्यति लामो प्रतिबन्ध भने नपाउने अनुमान गरिएको छ।
अर्जेन्टिनाको अनुशासनहीनताको पुरानै शृङ्खला
अर्जेन्टिनी टोली अनुशासनको विवादमा परेको यो पहिलो पटक भने होइन।
सेमिफाइनलमा इङ्ल्यान्डलाई २-१ ले हराएपछि क्रिस्ट्रियन रोमेरो, जिओभानी लो सेल्सो र लिसेन्ड्रो मार्टिनेजले ‘फकल्यान्ड टापु अर्जेन्टिनाको हो’ लेखिएको राजनीतिक ब्यानर प्रदर्शन गरेका कारण पनि फिफाले छुट्टै कारबाही अगाडि बढाइसकेको छ।

सन् २०१४ मा पनि यस्तै ब्यानर बोक्दा अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरिएको थियो।
यसबाहेक, सन् २०२२ को विश्वकप जितेपछि गोलकिपर एमिलियानो मार्टिनेजले गरेको अश्लील हर्कत तथा हालैको २०२४ कोपा अमेरिका जितेपछि एन्जो फर्नान्डेजले फ्रान्सेली खेलाडीविरुद्ध रङ्गभेदी गीत गाएको भिडियोले पनि अर्जेन्टिनी टोलीको निकै आलोचना भएको थियो।
मार्टिनेजलाई हालै ‘आक्रामक व्यवहार’ का कारण दुई खेलको प्रतिबन्ध समेत लगाइएको थियो।
फिफाले यस नयाँ अनुसन्धान कहिलेसम्म टुङ्ग्याउने भन्ने निश्चित समयसीमा तोकेको छैन। तर, नियुक्त गरिएका अभियोजकले प्रमाणहरू सङ्कलन गरी चाँडै नै कारबाहीको अन्तिम निर्णय सुनाउने अपेक्षा गरिएको छ।
साउन ५, २०८३ मंगलबार ०८:१३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।