नेपाल सहभागी हुन नपाउने ‘साफ च्याम्पियनसिप २०२६’ बङ्गलादेशमा हुने
काठमाडौं : दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘साफ च्याम्पियनसिप २०२६’ को मिति र आयोजक राष्ट्र तय भएको छ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) का अनुसार आगामी साफ च्याम्पियनसिप सन् २०२६ नोभेम्बर ४ देखि १७ सम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुनेछ।
यस फुटबल प्रतियोगितामा नेपाल बाहेक साफका सबै सदस्य राष्ट्रहरू (भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, अफगानिस्तान र श्रीलङ्का) सहभागी हुने अपेक्षा गरिएको छ।
नेपाललाई भने फिफाले निलम्बन गरेको कारण नेपालले साफ च्याम्पियनसिपमा सहभागी हुन पाउने छैन।
प्रतियोगिताको तयारी स्वरूप आगामी जुलाई २५ मा ढाकामा एक विशेष समारोहका बीच यस संस्करणको आधिकारिक ‘लोगो’ सार्वजनिक गरिनेछ।
यसैगरी, प्रतियोगिताको आधिकारिक खेल तालिका (ड्र) आगामी अगस्ट १ मा भुटानको राजधानी थिम्पुमा सार्वजनिक गरिने साफले जनाएको छ।
‘साफ च्याम्पियनसिप २०२६ को मिति र खेल स्थान घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौँ। यो प्रतियोगिताले वर्षौँदेखि यस क्षेत्रका फुटबल प्रशंसकहरूलाई अविस्मरणीय क्षणहरू दिँदै आएको छ’, साफका महासचिव पुरुषोत्तम कट्टेलले भने।
महासचिव कट्टेलले सन् २०२६ को फिफा विश्वकप भर्खरै सकिएको सन्दर्भमा यो घोषणाले दक्षिण एसियाली फुटबल प्रेमीहरूमा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरे।
‘बङ्गलादेशमा फुटबलप्रति बढ्दै गएको क्रेजका बीच उसले आयोजनाको जिम्मेवारी पाउनु निकै सुखद कुरा हो। बङ्गलादेशले खेलाडी र समर्थक दुवैका लागि यो प्रतियोगितालाई भव्य र सफल बनाउनेमा हामी विश्वस्त छौँ’, उनले भने।
यो साफ च्याम्पियनसिपको १५औं संस्करण हो। बङ्गलादेशले यसअघि सन् २०१८ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो।
त्यसपछि पहिलो पटक यो प्रतियोगिता बङ्गलादेशमा फर्किन लागेकाले पनि यस पटक फुटबल प्रेमीहरूमा थप उत्साह र उत्सुकता बढेको छ।
साउन ५, २०८३ मंगलबार ११:२५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।