कन्फेसन पेजले पर्दाफास गर्यो सुकुनाका शिक्षकहरूको शृङ्खलाबद्ध यौन दुर्व्यवहार, विद्यार्थीदेखि अभिभावकसम्म प्रताडित

कन्फेसन पेजले पर्दाफास गर्यो सुकुनाका शिक्षकहरूको शृङ्खलाबद्ध यौन दुर्व्यवहार, विद्यार्थीदेखि अभिभावकसम्म प्रताडित

काठमाडौँ : सामान्यतया सामाजिक सञ्जाललाई विकृति र विसङ्गतिको कारक मानिन्छ। अनि सकेसम्म आफ्ना सन्तानलाई सञ्जालबाट टाढै राख्ने प्रयासमा लाग्छन् अभिभावक। तर सही ढङ्गले प्रयोग गर्ने हो भने यही सञ्जाल कुनै छद्म समूहको राजनीतिक हतियार र ट्रोलको भन्डार मात्रै हैन समाज रूपान्तरण र न्याय प्राप्तिको शक्तिशाली सहयोगी समेत बन्न सक्छ भन्ने बलियो उदाहरण मोरङको एक विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका छन्।

मोरङको सुन्दरहरैँचा नगरपालिका-१० खोसनिमा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थी र पूर्व विद्यार्थीहरूले सामाजिक सञ्जाल फेसबुकको रचनात्मक प्रयोग गर्दै वर्षौँदेखि गुम्सिएर रहेको यौन दुर्व्यवहारको शृङ्खलालाई सार्वजनिक गरे। सामाजिक सञ्जालमा चलाइएको यही अभियानका कारण अन्ततः दुर्व्यवहारमा संलग्न तीन जना पक्राउ परेका छन् भने आरोपी शिक्षकहरू निलम्बनमा परेका छन् ।

न्यायको माध्यम बन्यो सञ्जाल 

सन् २०२१ देखि सञ्चालनमा रहेको ‘S/K/N Confession & Meme’ नामको फेसबुक पेजले पीडित छात्राहरूको पहिचान गोप्य राख्दै उनीहरूले भोग्दै आएको यौन दुर्व्यवहारको घटनाहरू सार्वजनिक गर्न थालेको थियो। पेजले आइतबारदेखि ‘हिडन भोइस’ नामक सिरिज नै सुरु गरेपछि वर्षौँदेखि शिक्षकहरूबाट मानसिक र शारीरिक शोषण भोगिरहेका पूर्व र अहिले पनि सोही विद्यालयमा पढिरहेका छात्राहरूले आफ्ना पीडा र प्रमाणहरू सोही पेजबाट साझा गर्न थाले।

पेजले पीडितको गोपनीयता कायम राखेर दोषीलाई एक्स्पोज गर्ने रणनीति सार्वजनिक गरेपछि थप पीडितहरू खुल्न थाले। त्यसपछि त शिक्षकहरूले विध्यार्थीहरुलाई अनेक प्रलोभन दिएर गरेको यौन दुर्व्यवहारका प्रमाण एकपछि अर्को गर्दै सार्वजनिक हुन थाले।

फेसबुक पेजमार्फत विद्यार्थीहरूले शिक्षक र विद्यालयका कर्मचारीहरूले पठाएका आपत्तिजनक डिजिटल प्रमाण च्याटका स्क्रिनशट र अडिओहरू नै सार्वजनिक गरे। सार्वजनिक भएका प्रमाणहरूका अनुसार शिक्षकहरूले कक्षा ११ र १२ का छात्राहरूलाई प्रयोगात्मक  नम्बर बढाइदिने भन्दै अश्लील तस्बिर माग्ने र रात बिताउने प्रस्ताव समेत राखेका थिए।

परीक्षा उत्तीर्ण गराइदिने वा प्रश्नपत्र पहिल्यै आउट गरिदिने प्रलोभन देखाएर राति कोठामा बोलाउने र अनलाइनमा भद्दा रूपमा 'फ्लर्ट' गर्ने गरेका थिए। विद्यालयका बस चालक र सहचालकले समेत छात्राहरूलाई सामाजिक सञ्जालमा अश्लील मेसेज पठाउने गरेका थिए।

यसअघि विद्यालय प्रशासन वा प्रधानाध्यापककहाँ मौखिक गुनासो गर्दा छोरी जस्तै गरेर छोएको हो भन्दै घटनालाई बेवास्ता गरिएकोमा सामाजिक सञ्जालकै दबाबका कारण यसपटक प्रशासन पछि हट्न बाध्य भयो। सामाजिक सञ्जालमा प्रमाणहरू सार्वजनिक भएपछि वर्षौँदेखि घटना ढाकछोप गर्दै आएको विद्यालय प्रशासन र स्थानीय प्रहरी प्रशासनमाथि कारबाहीका लागि तीव्र दबाब सिर्जना भयो।

'बुढो शिक्षक' भन्दै विद्यालयले लुकाएको त्यो घटना

कन्फेसन पेजमा विद्यार्थीहरूले पठाएका म्यासेजहरूले विद्यालय प्रशासनले कसरी घटनाहरूलाई बेवास्ता गर्थ्यो भन्ने अर्को कुरूप पाटो पनि खोलेका छन्। विज्ञान सङ्कायकी एक पूर्व छात्राले आफ्नो कक्षाकी साथीले भोगेको पीडा यसरी साझा गरेकी छन् :

कक्षा १२ मा पढ्दा गणित विषय पढाउने शिक्षक महेश रेग्मीले छात्राहरूलाई सधैँ नराम्रो नियतले छुने गर्थे। एकदिन वातावरण दिवसका दिन दोस्रो पिरियडमा ती शिक्षकले कक्षाकोठाभित्रै छात्रालाई यसरी दुर्व्यवहार गरे कि ती छात्रा गम्भीर मानसिक तनावमा परिन्।

सञ्जालमा सार्वजनिक कन्फेस अनि आरोपीले पठाएका सन्देशको स्क्रिनसट।साथीहरू मिलेर उक्त घटनाबारे तत्कालै विद्यालयका शिक्षकहरू हिक्मत सर, राजकुमार सर र राजेन्द्र सरलाई जानकारी गराएका थिए। तर, उनीहरूले "बुढो शिक्षक हो, के गर्ला र!" भन्दै घटनालाई बेवास्ता गरिदिए। 

ती विद्यार्थीले लेखेकी छन् "त्यतिबेला सिङ्गो कक्षा १२ का सबै सेक्सन मिलेर कुरा उठाउँदा पनि केही गर्न सकेका थिएनौँ, तर आज सामाजिक सञ्जालमार्फत कुरा राख्न पाउँदा राहत महसुस भएको छ। दुर्व्यवहार आखिर दुर्व्यवहार नै हो।"

विद्यार्थीका आमाहरू समेत पीडित

कन्फेसन पेजमा सार्वजनिक भएको अर्को गम्भीर घटना अनुसार, विद्यालयका सामाजिक विषयका शिक्षक युवराज सर (युवराज दुलाल) ले विद्यार्थीलाई मात्र नभएर उनीहरूका अभिभावक (आमा) लाई समेत सामाजिक सञ्जालमा गम्भीर मानसिक तनाव दिने गरेको देखिन्छ।

एक विद्यार्थीले कक्षा ८ मा पढ्दा अभिभावक-शिक्षक बैठकमा ती शिक्षकले आफ्नी आमासँग सामाजिक सञ्जालमा जोडिने अनुमति मागेको र पछि पढाइसँग असम्बन्धित मेसेजहरू जस्तै— खाना खानुभयो",के गर्दै हुनुहुन्छ?, किन रिप्लाई नगरेको", सुत्नुभयो? भन्दै निरन्तर हैरान पारेको खुलाएका छन्।

ती शिक्षकले दुईअर्थी जोकहरू गर्ने र आमाले ब्लक गरिदिएपछि कक्षाकोठामै विद्यार्थीलाई बोलाएर आमाको व्यक्तिगत विवरण सोध्ने गरेका थिए। ती पूर्व विद्यार्थीले थपेका छन् "उहाँ कक्षामा छात्राहरूको गाला तान्ने, जिस्किने गर्नुहुन्थ्यो, जुन अत्यन्तै घिनलाग्दो हुन्थ्यो।"

अनि सक्रिय भयो प्रहरी

विद्यार्थीहरू आन्दोलित बन्ने र शिक्षकहरू विरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेकै बेला जिल्ला प्रहरी कार्यालय मोरङले साउन ४ गते बिहान १० बजे अनुसन्धानको क्रममा संलग्न देखिएका ३ जना आरोपीहरूलाई नियन्त्रणमा लियो। 

प्रहरीद्वारा सार्वजनिक प्रेस विज्ञप्ति अनुसार प्रदीप भट्टराई (बस चालक), किशोरलाल गच्छदार (शिक्षक), अविरल मास्के (लेखा अधिकृत तथा शिक्षक) पक्राउ परेका छन्।

प्रहरीका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान कार्य भइरहेको छ। अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेमा कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ।

यता, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको संयुक्त बैठकले आरोपी कर्मचारी तथा शिक्षकहरू अविरल मास्के, भीमप्रसाद नेपाल र चालक प्रदीप भट्टराईलाई विद्यालयबाट निलम्बन गरिसकेको छ।

साउन ४, २०८३ सोमबार १७:५९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।