देशका यी स्थानमा भारी वर्षाको सम्भावना

देशका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ, जसकारण देशभर अधिकांश आकाशमा बादल लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै, देशका पहाडी भू-भागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।

मधेश प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम हिमपात वा वर्षा हुने अनुमान छ।

यसैगरी, आज राति पनि देशभर साधारणतया बदली (बादल लाग्ने) रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसबाहेक राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थान, मधेश प्रदेश, कर्णालीका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा बाँकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले बुलेटिनमार्फत जनाएको छ।

साउन ५, २०८३ मंगलबार ०७:३०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।