नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या, पलङभित्र लुकाएको अवस्थामा शव फेला

नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या, पलङभित्र लुकाएको अवस्थामा शव फेला

काठमाडौं : काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा कैलालीकी निशा सुनुवारको हत्या गरी पलङभित्र लुकाइएको अवस्थामा शव फेला परेको छ।

धनगढी नगरपालिका-७ घर भई माछापोखरीमा बस्दै आएकी सुनुवारको करिब तीन दिनअघि नै हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिषर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले उकेरालाई दिएको जानकारी अनुसार हत्यामा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

उनले भने, “हिजो शव बरामत भएको हो। शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ। यसमा संलग्न रहेको आरोपमा ४ जना पुरुष र एक महिला पक्राउ गरेर सोधपुछ गरिरहेका छौं। थप अन्यको पनि संलग्नता हुन सक्ने भएकोले आरोपितको परिचय खुलाएको छैनौं।”

आइतबार अनुमानित ३० वर्षभन्दा कम उमेरकी सुनुवारको शव गेस्टहाउसको कोठामा पलङभित्र व्यवस्थापन गरेको अवस्थामा भेटिएको थियो। 

हाल निशाको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा  राखिएको छ। हालसम्म निशाको परिवार प्रहरीको सम्पर्कमा नआएको सूचना अधिकारी भट्टराईले जानकारी दिए।

साउन ४, २०८३ सोमबार २२:००:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।